वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तुको जिल्ला सदरमुकाम तौलिहवाबाट काठमाडौंका लागी ‘द प्यालेस’ बसको सेवा संचालनमा आएको छ । बुधबार तौलिहवा बसपार्कमा आयोजित उद्घाटन समारोहमा कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदिप पौडेलले उद्घाटन गरेसंगै पश्चिम नेपाल बस व्यवसायीद्धारा संचालित ‘द प्यालेस’ बस संचालनमा आएको हो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख पौडेलले कपिलवस्तु क्षेत्रको सर्वाङ्गीण विकासमा बस सेवाले महत्वपुर्ण भूमिका निर्वाह गर्ने बताए । काठमाडौंका लागी तौलिहवा क्षेत्रबाट सुविधान सम्पन्न बस सेवा सुरु भएकोमा उनले खुशी व्यक्त गरे । उनले बस संचालनका क्रममा आईपर्ने समस्या समाधान गर्न आफुले सकारात्मक तवरले सहयोग गर्ने प्रतिवद्धता जनाए ।

बसका प्रो. ऋषिराम न्यौपानेले चन्द्रौटाबाट संचालन हुदैं आएको दरबार बसको सफलतापछि कपिलवस्तुवासीको मागलाई सम्बोधन गर्न ‘द प्यालेस’ बस सेवा सुचारु गरिएको बताए । झन्डै ३ करोड बढीको लगानीमा ३ वटा बस संचालनमा ल्याईएको उनले जानकारी दिए । उनका अनुसार ४१ सिट रहेको बसमा एयर सस्पेन्सन, एसी, हिटर, मिनिरल वाटर, कम्फर्टेबल सोफा सिट, फ्रि वाईफाई, मोवाईल चार्जर, सिसिटिभि क्यामेरा, स्मार्ट एलईडी टिभि, सेक्युरेटी ब्रेक लगायतका सेवा सुविधा रहेको छ ।

उनले बस तौलिहवाबाट प्रत्येक दिन साढे ६ बजे र काठमाडौंबाट ठिक ७ बजे छुट्ने जानकारी दिए ।
शैक्षिक व्यक्तित्व गोविन्द खनालले पछिल्ला केही बर्षहरुबाट अन्य जिल्लाबाट भन्दा कपिलवस्तुबाट सुविधा सम्पन्न बसहरु संचालन भईरहेको भन्दै खुशी व्यक्त गरे । उनले यात्रुलाई बसमा दिईने सेवा सुविधाबाट यात्रु सन्तुष्ट हुने गरि बस सेवालाई अघि बढाउन आग्रह गरे ।
बसको अवलोकन गरेपश्चात उनले हवाई यात्रामा प्राप्त गरिने सेवा सुविधा भन्दा कम नभएको अनुभूति आफुले गरेको बताए ।
वरिष्ठ समाजसेवी रााजेश आचार्यले सुविधा सम्पन्न बसहरु जिल्लाबाट सुचारु हुनु कपिलवस्तुवासीका लागी गर्वको कुरा भएको बताए । काठमाडौंमा समेत कपिलवस्तुका बसहरुको प्रशंसा हुने गरेको उनले सुनाए ।








