कपिलवस्तु ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले देशको विकासका लागि नेपाल कम्युनिष्ट पार्टी ‘एमाले’ को एकल सरकारको खाँचो रहेको बताएका छन् । एमालेको बहुमतको सरकार नबनेसम्म देशमा विकासको परिकल्पनासमेत गर्न सकिने अवस्था नदेखिएको उनले बताए । जिल्लाको विजयनगर गाउँपालिकामा नेकपा एमाले विजयनगर गाउँ कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रममा मन्त्री अधिकारीले यस्तो बताएका हुन् ।
उनले जनताको आवश्यकतालाई परिपुर्ति गर्दै समाजवादको बाटो तयार गरि एमालेले सुखी नेपाल, समृद्ध नेपालको लक्ष्य पुरा गर्ने संकल्पसहित लागेको बताए । एमाले सरकारले जहिल्यै पनि देशमा परिवर्तन हुने र जनतालाई महसुस हुने खालको योजना ल्याई विकासको गरेको उनले जिकिर गरे । सरकारको अस्थिरताका कारण विकासको कार्यमा विभिन्न बाधाअड्चनले नकारात्मक असर पर्ने गरेको मन्त्री अधिकारीको भनाइ छ ।
भूमीहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी लालपूर्जा दिने कानुनी प्रक्रियामा मन्त्रालयले लागेको बताउँदै उनले आफ्नै कार्यकालमा लालपूर्जा दिने कामको सुरुवात गर्ने उनले बताए । मन्त्री अधिकारीले भूमी, नापी र सहकारीका नयाँ ऐनहरु बनाउने प्रक्रियालाई मन्त्रालयले अगाडी बढाइएको बताए ।
यस्तै सांसद मंगल प्रसाद गुप्ताले प्राथमिकताको आधारमा विकास गर्ने बताउँदै आवश्यकताको आधारमा बजेट विनियोजन गरेको बताए । उनले क्रमशः सबै ठाउँमा बजेटको माग गर्दै समानुपातिक हिसाबले विनियोजन गर्दै जाने बताए । एमाले नेतृत्वको सरकार सिस्टममा गएकोले देशमा भ्रष्टाचार कम भएको उनले दाबीसमेत गरे ।
विजयगनर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले विजयनगर गाउँपालिका जिल्लाकै सबै भन्दा पछाडी परेको बताउँदै स्थानीय सरकार आएपछि विकासको सुरुवात भएको बताए । समग्र पालिकाको विकास लागि आफ्नो ठाउँबाट पहल र सहयोग गरिदिन भन्दै उनले मन्त्री अधिकारीलाई ध्यानाकर्षणसमेत गराए ।
विजयनगर गाउँ कमिटीले आयोजना गरेको शुभ दिपावली, छठ पर्वको शुककामना आदानप्रदान तथा भेटघाट कार्यक्रमलाई सांसद सिराज फारुकी, मुस्लिम आयोगका सदस्य मिर्जा अर्शद बेग, प्रदेश सांसद अर्जुन कुमार केसी, नेकपा एमाले प्रदेश कमिटी सदस्य नेत्रराज अधिकारी, नेकपा एमाले जिल्ला अध्यक्ष बाबुराम खनाल, पुर्व जिल्ला अध्यक्ष झबिलाल पोख्रेल, अकबाल अहमद शाह लगायतले सम्बोधन गरेका थिए भने गाउँ कमिटी अध्यक्ष थर्क बहादुर खन्गाहाको अध्यक्षता र सचिव गोकर्ण प्रसाद सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।








