रुपन्देही ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउको विरोधमा रुपन्देहीको भैरहवामा मंगलबारभन्दा आज बुधबार सो पार्टीका समर्थकहरु बढी देखिए ।
मंगलबार पनि दिनभरजसो प्रदर्शन गरेका रास्वपा कार्यकर्ताहरुले बुधबार शक्ति बढाएका हुन् । मंगलबार मध्यान्ह साढे १२ बजेदेखि साँझ ६ बजेसम्म उनको बयान जिल्ला सरकारी वकिल कार्यालयमा लिइरहेपनि आसपासका क्षेत्रमा नियमितजसो प्रदर्शन गरिरहेका थिए ।
आज सबा १० बजे बयानका लागि पुराइएपछि ११ बजेबाट प्रदर्शन थालिएको हो ।
लुम्बिनी रोडमा रास्वपा नेता कार्यकर्ताले लामिछानेको पक्षमा प्रदर्शनपछि कोणसभा गरिएको छ । रास्वपा लुम्बिनी प्रदेश सभापति देवराज पाठकले मंगलबार आकस्मिक भएर समर्थकहरु थोरै भएपनि आज हिजोभन्दा बढेका हुन् ।
उनले विभिन्न जिल्लामा डुलाएर कानुनी छिद्र खोजेर अलमलाउन खोजिए पनि त्यो संभव नभएको बताए । रुपन्देहीमा जम्मा भएका पार्टीका समर्थकहरुलाई उनले आन्दोलनलाई मर्यादित बनाउन आग्रह गरे ।








