सागर वि.क., वैखरी अनलाईन ।
१५ औं कपिलवस्तु महोत्सवको ९० प्रतिशत तयारी पुरा भएको छ । महोत्सवको करिब ९० प्रतिशत तयारी भईसकेको र बाँकी काम महोत्सव समुदघाटन गर्नूपूर्व एकदिन अघि नै सम्पूर्ण तयारी सक्ने गरि तयारी भईरहेको कपिलवस्तु उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष डोकलराम घिमिरेले जानकारी दिए ।
कम्पाण्ड निर्माणको काम पूर्णरुपमा सम्पन्न भएको बताउँदै उनले स्टल, मञ्च, सचिवालय, प्रवेशद्धार, बालउद्यान निर्माणको काम अन्तिम चरणमा रहेको बताए । यस पटक महोत्सवको प्रवेश गेट पशुपतिनाथ मन्दिरको स्वरुपमा निर्माण गरिने उनले बताए ।
निवर्तमान अध्यक्ष घिमिरेले महोत्सवको उद्घाटन गर्न नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे आउने कार्यतालिका तय भएको जानकारी दिए । विगतका महोत्सवबाट हासिल गरेका अनुभवलाई उपयोग गर्दै १५औं कपिलवस्तु महोत्सवलाई पृथक बनाउने गरि काम भएको उनले बताए ।
लुम्बिनी प्रदेश स्तरिय महिला कबड्डी प्रतियोगिता र नगरस्तरिय महिला भलिबल प्रतियोगिता गर्ने तयारी रहेको उनले जानकारी दिए । महोत्सवले औद्योगिक एवं हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादन, प्रवर्धन तथा बजारीकरणमा सघाउ पुग्ने उनले बताए ।
आर्थिक मन्दी झेलिरहेका उद्यमी व्यवसायी र आम सर्वसाधारणलाई आर्थिक पुनरुत्थानको आयामको रुपमा महोत्सवलाई लिन सकिने उनको भनाई छ । ‘अर्थतन्त्रलाई चलायमान गराउँन महोत्सवले टेवा पुग्ने छ,’ उनले भने, ‘उद्योग, व्यवसायको प्रवद्र्धन गर्दै उद्योगी व्यवसायीलाई केही राहत दिलाउने छ ।
महोत्सवमा यस क्षेत्रका पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्दै कपिलवस्तुको व्यवसायलाई प्रतिबिम्बित गरिने उनले बताए । उनले हस्तकलाको प्रदर्शनसंगै शैक्षिक प्रदर्शनी र कृषि प्रदर्शनी समेत हुने बताए । उनले विगतका महोत्सवलाई सफल बनाउन सबैको साथ सहयोग प्राप्त भएको स्मरण गर्दै यस पटकको १५ औं कपिलवस्तु महोत्सवलाई सभ्य र भव्य रुपमा ऐतिहासिक बनाउन सबैलाई अपिल समेत गरे ।
यही मंसिर १९ गतेदेखि पौष २ गतेसम्म कपिलवस्तु उद्योग बाणिज्य संघको आयोजनामा १५ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी हुदैं छ । महोत्सव बाणगंगाको चारनम्बरमा अवस्थित बुद्धरंगशालामा हुन लागेको हो ।








