रुपन्देही ।
रुपन्देहीको भैरहवामा आयोजित नवौं लुम्बिनी राष्ट्रिय महोत्सव सम्पन्न भएको छ ।
सुस्ताएको अर्थतन्त्र र बजारलाई चलायमान बनाउने उद्देश्यसहित सिद्धार्थ उद्योग वाणिज्य संघको आयोजना मंसिर २० देखि पुस १ गतेसम्म महोत्सव सञ्चालन भएको थियो ।
महोत्सवमा क्रेता-विक्रेताबीच प्रत्यक्ष भेटघाट भएको र यसले उद्योगी–व्यवसायी र उपभोक्ताबीचको सामिप्यतालाई अझै प्रगाढ बनाएको आयोजकले जनाएका छन् ।
‘पर्यटन, उद्योग, कृषि र व्यापार, राष्ट्रिय समृद्धिको आधार’ भन्ने मूल नाराका साथ आयोजना गरिएको महोत्सव आन्तरिक र भारतीय गरी करिब ३ लाख दर्शकले अवलोकन गरेको र करिब १० करोड रुपैयाँको कारोबार भएको आयोजक संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताए ।








