सागर वि.क., वैखरी अनलाईन ।
गत मंसिर १९ गते सुरु भएको १५औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी भव्यताका साथ सम्पन्न हुने अन्तिम संघारमा आईपुगेको छ । कपिलवस्तु उद्योग बाणिज्य संघले आयोजनामा भएको यस महोत्सव पुष २ गते भव्यताका साथ समापन हुदैं छ ।
महोत्सवको मुख्य प्रवेशद्धारबाट ठिक अघि बढ्ना साथ महोत्सव अवलोकन गर्न आएका जोकोही टक्क अडिन्छ र नियाल्न थाल्छ, आकर्षक तस्बिरहरु । जहाँ कपिलवस्तुका मुख्य धार्मिक, ऐतिहासिक तथा पुरातात्विक एवम् पर्यटकिय स्थलहरुको फोटो प्रदर्शनी गरिएको छ ।
आकर्षक तस्बिरसंगै ति स्थानको आवश्यक जानकारी समेत तस्बिरको एकापट्टी लेखेर प्रदान गरिएको छ ।

औसतमा हरेक दिन ५ हजार बढी दर्शकले ति तस्बिरहरु नियाल्ने गरेको कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष तथा महोत्सवका संयोजक गणेश बहादुर क्षेत्रीले बताए । ति तस्बिरहरु अवलोकन गर्ने अधिकांशले फोटो समेत खिच्ने गरेको उनले बताए ।
फोटो प्रदर्शनीले यस क्षेत्रको पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थलको संरक्षण तथा प्रवद्र्धन गर्नमा महत्वपुर्ण भूमिका निर्वाह गर्ने उनको विश्वास छ ।
आकर्षक ति तस्बिरहरुले सबैको मनै लोभ्याउने गरेको छ ।
१५औं कपिलवस्तु महोत्सव “सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने मूल नाराका साथ बाणगंगाको चारनम्बर जीतपुरस्थित बुद्धरंगशालामा जारी छ ।







