गृहपृष्ठ Featured बर्दियामा सवारी दुर्घटनामा बाबुछोराको मृत्यु, १५ जना घाइते

बर्दियामा सवारी दुर्घटनामा बाबुछोराको मृत्यु, १५ जना घाइते

बर्दिया — यात्रुवाहक गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा बाबुछोराको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

गुलरिया नगरपालिका–११ लालपुरस्थित गुलरियाबाट नेपालगन्जतर्फ गइरहेको बा ५ ख ५६०५ नम्बरको यात्रुवाहक गाडी र विपरीत दिशाबाट आइरहेको सीएचओसीएम ९४३७ नम्बरको भारतीय मोटरसाइकल एकआपसमा ठोक्किएर शनिबार दिउँसो १ बजेर ४० मिनेटको समयमा दुर्घटना हुँदा मोटरसाइकलमा सवार बाबुछोराको मृत्यु भएको हो । चालकसहित गाडीमा सवार १५ जना घाइते भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक बाँकेको राप्तीसोनारी गाउँपालिका–५ का ३४ वर्षीय हुकुमबहादुर खत्री र मोटरसाइकलमा पछाडि सवार उनका बाबु ५५ वर्षीय दलबहादुर खत्रीको उपचारका क्रममा बर्दिया अस्पतालमा मृत्यु भएको डीएसपी रेशम बोहराले जानकारी दिए ।

गाडीका चालक गुलरिया नगरपालिका–८ का ४० वर्षीय हरि चौधरीको दाहिने हातमा चोट लागेको छ । उक्त गाडीमा सवार मधुवन नगरपालिका–६ का ४४ वर्षीया रेखा कार्कीको टाउको र ढाडमा चोट लागेको छ । मधुवन नगरपालिका–९ धर्मबस्तीकी २६ वर्षीया ललिता चौधरीको टाउको र हातमा चोट लागेको जनाइएको छ । त्यही ठाउँकी ३३ वर्षीया ऋतु चौधरी, वडा नम्बर ५ का १८ वर्षीय सुरजबहादुर राजी र १७ वर्षीय संगम वलीको टाउकोमा चोट लागेको छ । बारबर्दिया नगरपालिका–२ जोगीगाउँका ७७ वर्षीय प्रसाद थारुको हात र कुममा चोट लागेको छ ।

सम्बन्धित् समाचार