गृहपृष्ठ Featured बुटवल–गोरुसिङ्गे सडक विस्तार : चारनम्बर र गोरुसिंगेमा ३२ सय ३६ रुख काटिने

बुटवल–गोरुसिङ्गे सडक विस्तार : चारनम्बर र गोरुसिंगेमा ३२ सय ३६ रुख काटिने

बुटवल–गोरुसिङ्गे सडक विस्तारको काम अबको एक महिनापछि सुरु गरिने भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत ५० किलोमिटर लामो उक्त सडक विस्तार गर्न लागिएको हो ।

जसअनुसार अहिले माटो परीक्षणको लागि ल्याब निर्माण, सामग्रीहरूको व्यवस्थापन, सडक क्षेत्रको नाप जाँचलगायतका काम भएका छन् । यस्तै बन मन्त्रालयले रुख काट्नको लागि अनुमति दिएपछि अहिले रुखको मार्किङको काम पनि भइरहेको बुटवल–गोरुसिङ्गे सडक परियोजना प्रमुख इन्जिनियर कुशलता न्यौपानेले जानकारी दिइन् ।

चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवनको आशिष् निर्माण सेवा जेभीले उक्त सडक विस्तारका लागि ठेक्का पाएका छन् । १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपैयाँमा ३ वर्षभित्र काम पूरा गर्नेगरी गत असार १३ गते ठेक्का सम्झौता भएको थियो ।

न्यौपानेले अहिले पूर्व तयारी काम भइरहेको र माघ महिनाबाट सडक विस्तारका लागि औपचारिकरुपमा काम थाल्ने बताइन् । उनले अन्तर्राष्ट्रिय परामर्शदाताले निर्माण सामग्रीको गुणस्तर परीक्षण गरेर मात्र निर्माणको अनुमति दिने भएकाले पूर्व तयारीको काम धमाधम भइरहेको बताइन्।

उनले सवारी साधन र यात्रुलाई सास्ती हुन नदिन अहिलेको पिच नभत्काई दायाँ–बायाँको काम गरेर मात्र बिचको सडक पछि बनाउने तयारी गरेको खुलाइन् । २०१९ सालमा बनेको बुटवल–गोरुसिङ्गे सडक खण्ड ६२ वर्षपछि विस्तार हुन लागेको हो ।

सात हजार रुख काटिने

बुटवल–गोरुसिङ्गे सडक अन्तर्गत बन  क्षेत्रमा पर्ने ७ हजार १ सय ७५ रुख काटिने छ । बन क्षेत्रमा अहिले काट्नका लागि रुखको चिन्ह लगाउने काम भइरहेको छ। यो सडक विस्तारको क्रममा रुपन्देहीको सैनामैना नगरपालिकामा २६ सय १३, कन्चन गाउँपालिका १३ सय २६ गरी ३९सय ३९ रुख काटिने छन्।

यस्तै कपिलवस्तु जिल्लाको चारनम्बर र गोरुसिंहमा गरी ३२ सय ३६ रुख काटिने प्रमुख न्यौपानेले बताइन्। उनले रुखको धेरै ठाउँमा चिन्ह लगाउने काम वन कार्यालय मार्फत भइरहेको खुलाइन्।

सम्बन्धित् समाचार