दाङ ।
लुम्बिनी प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीमा आवश्यक भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ। यहाँ मुख्यमन्त्री कार्यालयसहित अन्य नौ वटा मन्त्रालयका कार्यालय भवन निर्माण भइरहेका छन्।
प्रदेश राजधानी निर्माण आयोजना कार्यान्वयन एकाइ कार्यालय दाङका सूचना अधिकारी इञ्जिनियर प्रदीप भट्टराईले भौतिक संरचना निर्माण गरी रङ्गरोगनसहित पहिलो चरणका काम सम्पन्न भएको बताए।
“पहिलो चरणमा भौतिक संरचना निर्माण तथा रङ्गरोगनका काम सकिएको छ। अब अन्तिम चरणका काम बाँकी छन्”, उनले भने, “त्यसबाहेक भवन आसपासमा सडक विस्तार, ढल निकास, नाली, फुटपाथ, सडकबत्ती जडानका काम भइरहेको छ।”
यहाँ विसं २०७९ फागुन ३ गते भवन निर्माणका लागि सिलान्यास गरिएको थियो। आगामी वर्षको पुसमा निर्माण सक्ने सम्झौता भए पनि त्यसअघि नै सक्ने गरी काम भइरहेको भट्टराईले बताए। उनका अनुसार भ्याटबाहेक तीन अर्ब नौ करोड एक लाख २९ हजारमा शर्मा सगुन जेभी काठमाडौँले यहाँ निर्माणको काम गरिरहेको छ।
विसं २०७७ असोज २० गते बुटवलमा बसेको प्रदेशसभा बैठकले यहाँ स्थायी राजधानी तोकेको थियो। दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिका वडा नं १, २ र ३ तथा अर्घाखाँचीको सितगङ्गा नगरपालिका वडा नं ८ र ९ लाई केन्द्र मानेर स्थायी राजधानी तोकिएको थियो।








