७ पुस, गुवाहटी । भारतको उत्तरपूर्वी क्षेत्रमा अवैध बालविवाहविरुद्ध गरिएको कारबाहीका कारण करिब पाँच हजार व्यक्ति पक्राउ परेका आसाम राज्यका अधिकारीले आइतबार बताएका छन् ।
बालविवाहविरूद्धको अभियानको तेस्रो चरण डिसेम्बर २१ र २२ मा मात्र ४१६ जनालाई पक्राउ गरिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । बालविवाहको आरोपमा यो बर्ष अहिलेसम्म कूल पाँच हजार व्यक्ति पक्राउ परेका छन् ।
आसाम राज्यका मुख्यमन्त्री हिमन्त बिस्वा शर्माले एक विज्ञप्ति जारी गरी भनेका छन्, ‘हामी यस सामाजिक कुरीतिको अन्त्यका लागि साहसिक कदम चाल्नेछौं।’
‘आसामले बालविवाहविरुद्धको लडाइँ जारी राखेको छ’, उनले भने, ‘रातभर छापा मारिएको छ र पक्राउ परेकालाई आइतबार अदालतमा पेश गरिनेछ।’
संयुक्त राष्ट्रसङ्घका अनुसार भारतमा २२ करोडभन्दा बढी बालदुलही छन् तर यो शताब्दीमा बालविवाहको सङ्ख्यामा नाटकीय रुपमा कमी आएको छ ।
आसाम राज्यले सन् २०२३ को फेब्रुअरीमा सुरु भएको उन्मूलन अभियानका क्रममा विवाहित दम्पतीका अभिभावक र कम उमेरका वैवाहिक बन्धनमा बाँधिएका रजिष्ट्रारसहित हजारौँलाई पक्राउ गरिसकेको छ । यो सँगै अहिले पक्राउ पर्नेको सङ्ख्या चार हजार भन्दा बढी पुगेको छ ।