लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार भ्रष्टाचारमुक्त शासन प्रणाली स्थापित गर्न लागिपरेकाे बताएका छन्। सुशासन, पारदर्शिता कायम राख्न भ्रष्टाचारमुक्त शासन प्रणाली स्थापित गर्न प्रदेश सरकार लागिपरेकाे उनले बताएका हुन्।
गैरसरकारी संस्था महासंघ नेपाल लुम्बिनी प्रदेश समितिले दाङकाे लमहीमा बिहीबार आयाेजना गरेकाे प्रदेशस्तरीय नागरिक सम्मेलनकाे उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले सुशासन कायम भए भ्रष्टाचार अन्त्य हुने बताउँदै सुशासन प्रवर्द्धन र भ्रष्टाचार न्यूनीकरण गर्न पाँच वर्षे रणनीतिक याेजना कार्यान्वयनमा लगिएको बताए।
‘सरकारकाे नेतृत्व गरेकै दिन भ्रष्टाचारविरूद्ध रणनीतिक याेजना निर्माण गर्ने निर्णयमा हस्ताक्षर गरेँ। अहिले त्याे याेजना तयार भएर कार्यान्वयनमा गएकाे छ,’ उनले भने, ‘सरकारले नागरिकमा बढ्दै गएकाे निरासालाई चिर्न सुशासन प्रवर्द्धन र भ्रष्टाचारविरूद्धका अभियानलाई प्राथमिकता दिएकाे छ। नेतृत्वमा रहेकाहरूलाई नै केन्द्रित गरेर आचारसंहिता निर्माण गरेर लागू गरेका छाैं। लुम्बिनी प्रदेशमा मुख्यमन्त्री, मन्त्रीहरूलाई आचारसंहिताकाे निगरानी छ।’
प्रदेश सरकारले गर्ने कामप्रति नागरिकहरू गुनासाे गर्न पाउने र त्यसकाे सुनुवाइ गर्ने संयन्त्रकाे विकास गरिएको उनकाे भनाइ छ।








