इजिप्टको गिजा प्रान्तमा आइतबार दुई रेल आपसमा ठोक्किँदा कम्तीमा सातजनाको मृत्यु भएको छ । १०० भन्दा बढी घाइते भएका छन् ।
राजधानी कायरो र दक्षिणी सहर अस्वानबीचको रेलमार्गमा एउटा रेलले अर्को रेललाई पछाडिबाट ठक्कर दिएको थियो । त्यसपछि एउटा रेल लिकबाट बाहिरिएको थियो । रेलका केही डिब्बा पल्टिएको इजिप्टका अधिकारीहरूले बताएका छन् ।
उक्त स्थान कायरोबाट करिब ५२ किलोमिटर दक्षिणमा पर्छ । उद्धारकर्मी र क्रेनको सहायताले रेलमार्गबाट दुर्घटनाग्रस्त डिब्बा हटाउने तथा गिजा प्रान्तको अल–अय्यात क्षेत्रमा रेल सेवा पुनः सञ्चालन गर्ने काम भइरहेको अधिकारीहरूले जनाएका छन् । दुर्घटनाको कारण भने तत्काल खुल्न सकेको छैन ।
इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीले घटनाको अनुसन्धान गर्न निर्देशन दिएका छन् । सामाजिक सञ्जालमार्फत उनले लापरबाही गरेको पुष्टि हुने जोकोहीलाई जवाफदेही बनाउन सम्बन्धित सरकारी निकायलाई आग्रह गरेका छन् ।
सन् २००२ मा रेलमा आगलागी हुँदा ३७० भन्दा बढी मानिसको मृत्यु भएको इजिप्टको इतिहासकै सबैभन्दा घातक रेल दुर्घटना भएको क्षेत्रनजिकै पछिल्लो दुर्घटना भएको हो ।
सन् २००९ मा पनि यही क्षेत्रमा भएका विभिन्न रेल दुर्घटनामा थुप्रै मानिसको ज्यान गएको थियो । डीडब्ल्यू








