सिमकोट ।
सर्केगाड गाउँपालिका–१ तुम्च गाउँका नागरिकलाई अनुदानको नुन किन्न मोटो रकम खर्च गर्नुपर्ने बाध्यता छ । अनुदानमा प्राप्त हुने नौ रुपैयाँको नुनलाई उनीहरुले रु. दुई हजार पाँच सयसम्म खर्च गरिरहेका छन् ।
नुन वितरणको डिपो कार्यालय गाउँभन्दा टाढा हुँदा महंगो गाडी भाडा तिरेर उनीहरु नुन किन्न जाने गरेका छन् । नुन लिन जाँदा र घर फर्कन मात्रै उक्त रकम खर्च हुने गरेको स्थानीय रामशरण रावतले बताए ।
केही दिनअघि साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले बिक्री गर्ने नुन खरिद गर्न सर्केगाडस्थित डिपोमा ठूलो खर्च भएको उनले बताए । उनले भने, “गाउँभन्दा पालिका केन्द्र टाढा छ । अनुदानमा रु नौ पर्ने नुन लिन जान पच्चीस सय रुपैयाँ खर्च लाग्छ ।”
एक दिनको पैदलयात्रामा पुगिने ठाउँमा गाडीमा आवतजावत गर्दा रु २५ सय लाग्ने गरेको रतन रावतले बताए । साल्ट ट्रेडिङको सर्केगाड बजारमा रहेकाले डिपो केन्द्रमार्फत मात्र बिक्री गर्दा तुम्चका ९५ घरधुरीलाई समस्या हुने गरेको रावतको भनाइ छ ।








