गृहपृष्ठ Featured गुठी संस्थानका अध्यक्ष हटाउने भूमि मन्त्रीको तयारी : १० महिनामा सोधियो २ पटक स्पष्टीकरण

गुठी संस्थानका अध्यक्ष हटाउने भूमि मन्त्रीको तयारी : १० महिनामा सोधियो २ पटक स्पष्टीकरण

सरकारले गुठी संस्थान सञ्चालक समितिका अध्यक्ष डा. शिवराज पण्डितलाई कारबाही गर्ने तयारी गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले उनलाई पछिल्लो १० महिनामा २ पटक स्पष्टीकरण सोधिसकेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले पछिल्लोपटक गत मंसिर २६ गते पण्डितलाई ११ बुँदे स्पष्टीकरण सोधेका थिए ।

‘मंसिर २५ गतेको मन्त्रीस्तरीय निर्णयानुसार गुठी संस्थान सञ्चालक समितिका अध्यक्षलाई कार्य प्रगतिसहित विभिन्न विषय समेटेर ११ बुँदे स्पष्टीकरण सोधिएको थियो,’ मन्त्रालय स्रोतले भन्यो, ‘उक्त स्पष्टीकरणको जवाफ पनि पुस १ गते पेश भइसकेको छ ।’

अध्यक्ष पण्डितले दिएको जवाफमाथि मन्त्रालयमा छलफल चलिरहेको स्रोतले खुलायो ।

‘उहाँ नेकपा (माओवादी केन्द्र) निकट हो । उहाँको नियुक्ति माओवादीकी शशी श्रेष्ठको कार्यकालमा भएको हो,’ स्रोतले थप्यो, ‘अहिलेका मन्त्री एमालेका हुन् । खर्बौं सम्पत्ति रहेको गुठी संस्थानको अध्यक्ष जस्तो मुख्य पदमा मन्त्रीज्यूले आफ्नो मान्छे नियुक्त गर्नका लागि उहाँलाई हटाउन खोज्नुभएको हो ।’

अहिले दिइएको जवाफ सन्तोषजनक नरहेको भन्दै अब बर्खास्त किन नगर्ने भनेर अर्को स्पष्टीकरण सोध्ने मन्त्री अधिकारीको तयारी रहेको स्रोतले खुलायो ।

-लोकान्तर

सम्बन्धित् समाचार