गृहपृष्ठ Featured लुम्बिनी प्रदेशसभा बैठक : कार्यव्यवस्था परामर्श समिति पुनर्गठन

लुम्बिनी प्रदेशसभा बैठक : कार्यव्यवस्था परामर्श समिति पुनर्गठन

देउखुरी ।

लुम्बिनी प्रदेशसभाको पाँचौं अधिवेशनको पहिलो बैठकले कार्यव्यवस्था परामर्श समिति पुनर्गठन गरेको छ । मंगलबार बसेको पहिलो बैठकमा सभामुख तुलाराम घर्तीमगरले प्रदेशसभाको कार्यव्यवस्था परामर्श समिति पुनर्गठन गरेको जानकारी गराएका थिए ।

लुम्बिनी प्रदेशसभा नियमावली नियम १४ को उपनियम १ अनुसार प्रदेशसभा बैठकमा पेस हुने विषयहरुको प्राथमिकता तथा समयावधिको निर्धारणलगायत बैठकलाई व्यवस्थित रुपमा संचालन गर्न तथा सभामुखले आवश्यकता ठहराएको अन्य विषयमा सभामुखलाई परामर्श दिनका लागि सभामुखको अध्यक्षतामा बढीमा १३ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गर्न सक्ने व्यवस्था छ ।

प्रदेशसभा बैठकमा दिइएको जानकारीअनुसार समितिमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको तर्फबाट समानुपातिक प्रतिनिधित्व हुने गरी समिति पुनर् गठन गरिएको जानकारी गराइएको हो ।

समितिमा एमालेबाट तुलसीप्रसाद चौधरी, यमुना रोका तामाङ, कांग्रेसबाट जमुना ढकाल र निमा गिरी, माओवादीबाट इन्द्रजित थारु, राप्रपाबाट मिनाकुमारी श्रेष्ठ, जनमतबाट सुमन शर्मा रायमाझी, नागरिक उन्मुक्तिबाट राजकुमार चौधरी, लोसपाबाट हेमा बेल्वासे र जसपा नेपालबाट भण्डारीलाल अहिर रहेका छन् । समितिमा मनोनीत सबै सदस्य प्रदेशसभा बैठकबाट अनुमोदन भएका छन् ।

सम्बन्धित् समाचार