काठमाडौँ ।
नेकपा एमालेबाट निष्कासनमा परेका पूर्व उपाध्यक्ष भीम रावलले अध्यक्ष केपी ओलीबाट आफूमाथि शत्रुवत् व्यवहार भएको बताएका छन् । बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यस्तो बताएका हुन् ।
‘केपी ओलीले म सँग शत्रुवत् व्यवहार भयो । शत्रुवत् व्यवहार गरेपनि मैले पार्टी छाडिनँ,’ रावलले भने, ‘कुनै मतभेद र पदको आकांक्षा राखिनँ।’
आफूसँग वार्ता टोली गठन गरेर भ्रम सिर्जना गर्ने काम मात्रै भएको उनले बताए । पहिलो पटक वार्ता भएपनि त्यसपछि लामो समयसम्म आफूले ओलीसँग वार्ताका लागि समय माग्दा पनि नदिएको रावलले बताए ।
‘यसबाट केपी ओलीमा भएको दम्भ, बदला, निषेध, दुराग्रह र असहिष्णु प्रवृत्ति थियो भन्ने पुष्टि हुन्न र ?,’ रावलले भने, ‘अनि अहिले आएर भीम रावलले पार्टीसँग सम्पर्कमा रहेन भन्ने ।’








