वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिका- ५ कोपवामा रहेको हिमाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त कार्यक्रम शनिबार अन्नपुर्ण विद्यामन्दिरको प्राङ्गणमा सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका उपसचिव मोहन अर्यालले सहकारी देशकै अर्थतन्त्रको मेरुदण्ड भएको बताए । उनले अर्थतन्त्र चलायमान बनाउन सहकारीको महत्वपूर्ण भूमिका रहेको बताए । छरिएर रहेको पुँजीलाई एकिकृत गरेर यो सहकारी अघि बढेको भन्दै उनले खुशी व्यक्त गरे । सहकारीले आमजनतालाई आयआर्जनमा जोड्न सक्नुपर्ने बताए । सहकारीमार्फत कृषकलाई कृषि उत्पादन तथा र व्यवसायिकतामा प्रोत्साहन गरेर उनीहरुको जीवनशैली परिवर्तन गर्न आवश्यक रहेको उनको भनाई छ ।
बाणगंगा नगरपालिका वडा नं.५ का अध्यक्ष दुनिका भुसाल, वडा नं.६का अध्यक्ष करुण टण्डनले बाणगंगाका सहकारीहरुले सहकारी ऐन नियमको दायरमा रहेर काम गरिरहेकाले बचतकर्ताको बचत रकम सुरक्षित रहेको बताए । उनले बचतकर्तालाई ढुक्क पार्ने स्थिति निर्माण गर्न स्थानीय तहसंग समन्यन गरेर हरेक सहकारी अघि बढ्नुपर्ने बताए ।
बार्षिक निति तथा कार्यक्रम प्रस्तुत गर्दै सहकारीका कार्यवाहक अध्यक्ष भरतराज न्यौपानेले हालको शेयर सदस्य संख्या १ हजार ७८३ लाई वृद्धि गरि १ हजार ८५० पुर्याउने बताए । उनले एक सहकारी एक सदस्य निति अवलम्बन गरिने बताए । उनले हाल दिदैं आएको धितोकर्जालाई निरन्तरता दिने बताए ।
उनले जनतालाई सहकारीसंग प्रत्यक्ष रुप जोडेर समृद्धि हासिल गर्न सकिने बताए ।
सचिव युवराज अर्यालको संचालनमा सम्पन्न उक्त कार्यक्रममा युवराज अर्यालले स्वागत मन्तव्य राखेका थिए ।








