रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाले आफूले पाल्दै आएका चौपाया जथाभावी छोड्नेलाई ७ हजार रुपैयाँ जरिवाना लिने निर्णय गरेको छ । नगरमा छाडा गाईबस्तु बढ्न थालेपछि नियन्त्रणका लागि पालिकाले गत सातादेखि व्यवस्थापन अभियान सञ्चालन गरिरहेको छ ।
अभियानअन्तर्गत बिहीबारसम्म ७८ वटा गाईबस्तुको व्यवस्थापन गरिएको नगरपालिकाका प्रवक्ता मुक्तिनाथ यादवले बताए । त्यसमध्ये छाडा चौपाय आफ्नो भनी दाबी गर्न आएका २ जनालाई ७ हजार रुपैयाँका दरले जरिवाना गरेर गाईबस्तु जिम्मा लगाइएको उनले बताए ।
बजारमा छाडा रूपमा हिंडिरहेका चौपायालाई नियन्त्रणमा लिएर अस्थायी होल्डिङ सेन्टरमा राखिएको र त्यहाँबाट कपिलवस्तुको वांणगगा नगरपालिका- २ मा रहेको गौशालामा लगेर व्यवस्थापन गरिएको उनले जानकारी दिए ।
छाडा चौपायाले सडकमा सवारीसाधन र यात्रुलाई अवरोध गर्नुका साथै किसानको कृषि उपज खाइदिन थालेपछि छाडा चौपायाको व्यवस्थापन गर्न अभियान नै चलाउनु परेको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले जानकारी दिए ।








