काठमाडौँ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कम भिजिविलिटीमा समेत उडान गर्नसक्ने उपकरण जडान गरिएको उल्लेख गर्दै अब कुहिरोले समेत उडान प्रभावित गर्न नसक्ने दाबी गरेका छन् । शुक्रबार सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको ब्रेक थ्रु गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा रिक्वायर्ड नेभिगेसन पर्फमेन्स अथोराइजेसन रिक्वायर्ड (आरएनपीएआर) प्रणाली बिहीबारदेखि लागू भएको थियो । उपप्रधानमन्त्री पौडेलले उक्त प्रणालीले कम भिजिविलिटीमा उडान गर्न सक्ने बताए । उनले भैहरवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा सरकारले अनेक आलोचनाको सामना गर्नुपरेको समेत बताए ।
उनले आफूहरूले नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरेको उल्लेख गर्दै चलाएर देखाउने दाबी गरे । उनले सरकारले अगाडि बढाएका आयोजनाहरूको विरोध नगर्न समेत आग्रह गरे ।