स्पेनिस ला लिगामा बार्सिलोनाले भ्यालेन्सियाविरुद्ध फराकिलो जित निकालेको छ । गए राति भएको खेलमा बार्सिलोना ७-१ गोलअन्तरले विजयी भएको हो । त्यसमध्ये १ गोल भने बार्सिलोनाले आत्मघाती गोलका रूपमा उपहार पाएको थियो ।
बार्सिलोनाले खेलको तेस्रो, आठौँ, १४औँ, २४औँ र पहिलो हाफको इन्जुरी समयमा गोल गरेको थियो । यसरी बार्सिलोनाले पहिलो हाफमा भ्यालेन्सियाविरुद्ध ५-० को अग्रता लियो ।
खेलको ५९औँ मिनेटमा भ्यालेन्सियाले बार्सिलोनाविरुद्ध १ गोल गर्यो । तर, ६६औँ मिनेटमा बार्सिलोनाले खेललाई ६-१ को स्थितिमा पुर्यायो भने ७५औँ मिनेटमा आत्मघाती गोल उपहारमा पाएसँगै भ्यालेन्सियाविरुद्ध ७-१ को जित निकाल्यो ।
अर्को खेलमा एथ्लेटिक क्लब र लेगान्सबीचको खेल गोलरहीत बराबरीमा सकिँदा गेटाफेले रियल सोसिडाडलाई ३-० ले स्तब्ध पार्यो । उता रायो भ्यालेन्यासँग जिरोना २-१ ले स्तब्ध हुँदा रियल मड्रिडले भालाडोलिडलाई ३-० ले पराजित गर्यो ।
अंकतालिकामा रियल मड्रिड शीर्ष स्थानमा छ भने एट्लेटिको मड्रिड दोस्रो र बार्सिलोना तेस्रो स्थानमा छन् । एथ्लेटिक क्लब चौथो स्थानमा रहँदा भिल्लारियल पाँचौँ स्थानमा छ ।








