गृहपृष्ठ खबर अमेरिकाले एक हजार ३६५ जना नेपालीलाई पनि निष्कासन गर्दै

अमेरिकाले एक हजार ३६५ जना नेपालीलाई पनि निष्कासन गर्दै

डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि अमेरिकी सरकारले अवैध आप्रवासीलाई घर फर्काउने प्रक्रिया तीव्र बनाएको छ । यसैक्रममा अमेरिकाबाट निष्कासनमा पर्ने विभिन्न देशका १४ लाख ४५ हजार ५४९ आप्रवासीहरूको संख्या सार्वजनिक भएको छ । आप्रवासी निष्कासन अभियानअन्तर्गत एक हजार ३६५ नेपाली निष्कासनमा पर्ने भएका छन् ।

अमेरिकाको अध्यागमन कार्यालयले सार्वजनिक गरेको सूचीअनुसार एक हजार ३६५ जना नेपाली अमेरिकाबाट निष्कासनमा पर्ने भएका हुन् । कार्यालयले विभिन्न देशका १४ लाख ४५ हजार ५४९ जना आप्रवासीको संख्या सार्वजनिक गरेको हो ।

अमेरिकाबाट निष्कासन हुनेमा सबैभन्दा धेरै होन्डुरसका दुई लाख ६१ हजार ६५१ जना, ग्वाटेमालाका दुई लाख ५३ हजार ४१३ जना, मेक्सिकोका दुई लाख ५२ हजार ४४ जना रहेका छन् । यस्तै, चीनका ३७ हजार ९०८ जना र भारतका १७ हजार ९४० जना पनि अमेरिकाबाट निष्कासनमा पर्ने भएका छन् ।

अमेरिकाको आन्तरिक सुरक्षा विभागका अनुसार अमेरिकामा तीन लाख जनाभन्दा धेरै नेपाली मूलका बासिन्दा छन् । जसमध्ये दुई लाखजनाले ग्रिनकार्ड र झन्डै ८७ हजार जनाले नागरिकता प्राप्त गरेका छन् । २० हजारजना विद्यार्थी छन् भने २० हजारजनाले शरणार्थीका रूपमा आवेदन दिएका छन् । सात हजार पाँच सयजनाले अस्थायी आवासीय अनुमति पाएका छन् ।

अमेरिकाको अध्यागमन र भन्सार प्रवर्द्धन कार्यालयले एक हजार ३६५ भन्दा केही धेरै नेपाली अनधिकृत रहेको अनुमान गरेको छ । अमेरिकामा अहिले एक करोड २० लाख जना अवैध आप्रवासी रहेको प्यु रिसर्चले जनाएको छ । तीमध्ये सबैभन्दा बढी मेक्सिकोका झन्डै ५० लाख जना छन् । दोस्रोमा एल साल्भाडोरका सात लाख ५० हजार र तेस्रोमा भारतका सात लाख २५ हजारजना अनधिकृत आप्रवासी छन् ।

डोनाल्ड ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी सम्हालेसँगै अमेरिकाले अनधिकृत आप्रवासीलाई सामूहिक रूपमा फिर्ता गर्न थालेको छ । ट्रम्पले पदभार ग्रहण गरेयता कम्तीमा दुई हजार ६८१ जना अनधिकृत आप्रवासी पक्राउ परेका छन् । ट्रम्पले चुनावी अभियानमै घोषणा गरेअनुसार दक्षिणी सीमामा संकटकाल घोषणासमेत गरिसकेका छन् । संकटकाल घोषणासँगै अमेरिकाले मेक्सिकोसँगको सीमा क्षेत्रमा १५ सय सैनिक तैनाथ गरेको छ । एजेन्सी

सम्बन्धित् समाचार