गृहपृष्ठ कपिलवस्तु बिशेष बाणगंगामा नसर्ने रोगहरुको पहिचानका लागि एक महिने अभियान सुरु

बाणगंगामा नसर्ने रोगहरुको पहिचानका लागि एक महिने अभियान सुरु

वैखरी अनलाईन, बाणगंगा । 
कपिलवस्तुको बाणगंगा नगरपालिकामा नसर्ने रोगहरुको पहिचानका लागि एक महिने अभियान सुरु भएको छ । उक्त अभियान विहिबारदेखि ११ वटै वडाहरुमा सुरु भएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिए ।
उनका अनुसार उक्त अभियान ‘समयमै नसर्ने रोगको जाँच गराऊँ, दीर्घ जीवन बाँचौँ’ भन्ने नाराका साथ संघीयस्तरबाट अभियान सुरु भएको हो । एक महिनासम्म सञ्चालन हुने यस अभियानले नगरका विभिन्न स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिने बताए ।
उनले सबै व्यक्तिहरुको मधुमेह, उच्चरक्तचाप, मिर्गौला सम्वन्धि रोग एवं शरीरको उचाई र तौलको अनुपात (बीएमआई) पत्ता लगाई सम्भावित जोखिम घटाउने उदेश्य रहेको बताए ।
नगरप्रमुख चक्रपाणी अर्यालले मृत्यु र अपांगताको मुख्य कारण नसर्ने रोगको बढ्दो जोखिमलाई ध्यानमा राखेर यही फागुन महिनाभरि नसर्ने रोगहरूको रोकथाम, प्रारम्भिक पहिचान र व्यवस्थापनका लागि अभियान सञ्चालन भएको बताए । “रोग लागेपछि उपचार गर्नुको साटो रोग लाग्न नदिन सचेतना आवश्यक छ,” उनले भने, “यस अभियानले जनतालाई स्वास्थ्य जोखिमबारे जानकारी दिनुका साथै रोग पहिचान तथा रोकथाममा मद्दत गर्नेछ ।”
नसर्ने रोगको समयमै पहिचान गरी उपचार प्रक्रियामा सहभागी हुन नगरप्रमुख अर्यालले नगरवासीलाई आग्रह समेत गरे ।
यस अभियानले समुदायस्तरमै रोग पहिचान र रोकथामका उपायहरूबारे जनचेतना अभिवृद्धि गर्ने नगरउपपप्रमुख रिता कुमारी चौधरीको विश्वास छ ।
अभियान अवधिभर ३० वर्षभन्दा माथि उमेरका व्यक्तिहरुले नजिकैको स्वास्थ्य संस्थामा गई जाँचहरू गराई आफ्नो स्वास्थ्य अवस्था थाहा पाउन सक्ने उनले बताईन् । “जनतालाई प्रारम्भिक चरणमै रोग पहिचान गराई आवश्यक उपचार उपलब्ध गराउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो,” उनले भनिन् ।
अभियानबाट नसर्ने रोगहरूबारे आम जनतामा जनचेतना वृद्धि हुनुका साथै उनीहरूलाई उपचार प्रणालीमा जोड्ने लक्ष्य राखिएको प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले बताए ।

सम्बन्धित् समाचार