गृहपृष्ठ Featured कृष्णनगर भन्सार यार्डभित्रै किशोरी बलात्कृत !

कृष्णनगर भन्सार यार्डभित्रै किशोरी बलात्कृत !

कपिलवस्तुको कृष्णनगर भन्सार यार्डभित्रै एक किशोरी बलात्कृत भएकी छन् । चौबिसै घण्टा कडा सुरक्षा घेरा रहेको स्थानमा किशोरी बलात्कृतको समाचार बाहिरिएको छ ।

दार्चुला घर भएकी १६ वर्षीया किशोरी कृष्णनगर भन्सार यार्डभित्र अस्ति राति भारतीय ट्रक चालक कमलेश सिंहद्वारा बलात्कृत भएको भारतीय सुरक्षाकर्मीहरुले बताएका छन् । भारतीय सीमा सुरक्षा बलको बिओपी बढनी प्रमुख उमेश जाधवले पीडित किशोरीको अनुरोधमा चालकलाई पक्राउ गरेर भारतीय प्रहरीको जिम्मा लगाइएको बताए ।

भारतीय सुरक्षा स्रोतका अनुसार गैडाकोटस्थित गोर्खा बु्रअरीमा बियरको बोतल छोडेर फर्कंदै गरेको युपी ८३ टीटी ४०५९ नम्बरको ट्रकका चालकले किशोरीलाई चोरमाराबाट लगेको बताइन्छ । चन्द्रौटामा छाडिदिने भन्दै भारत कानपुर मेनपुरीका चालक कमलेश सिंहले अस्ति राति ११ बजे कृष्णनगर भन्सार यार्डमा पुर्याएको तथ्य खुलेको छ ।

उनले यार्डभित्रै रोकिएको ट्रकमा चालक सिंहले किशोरीलाई बलात्कार गरेका थिए । राति ३ बजेको समयमा किशोरी सीमानाबाट भारततर्फ आउँदै गरेको देखेपछि त्यहाँको एसएसबीले नियन्त्रणमा लिएर सोधपुछ गर्ने क्रममा उक्त घटनाबारे जानकारी भएको बताइन्छ ।

विओपी प्रमुख जाधवका अनुसार लगत्तै हिजो बिहान भारत प्रवेश गरेपछि उक्त गाडीसहित चालकलाई एसएसबीले लिएको हो । त्यसपछि उनलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ भने किशोरीलाई भारतीय एएचटीयु नामक सामाजिक संस्थाको जिम्मा लगाइएको छ ।

संवेदनशील क्षेत्रमा किशोरी बलात्कृत हुनु, पीडित र पीडकलाई भारतीय प्रहरीले नियन्त्रणमा लिनु नेपाली सुरक्षाकर्मीका लागि लज्जास्पद भएको कृष्णनगरबासी बताउँछन् । स्थानीय मुकेश शर्माले त्यस्तो ठाउँमा किशोरी बलात्कृत भएको खबर बाहिरिनुलाई अचम्म मानेका छन् ।

सम्बन्धित् समाचार