गृहपृष्ठ कपिलवस्तु बिशेष दोस्रो तिलौराकोट गोल्डकपको तयारी पुरा : भोलि मुख्यमन्त्री आचार्यले उद्घाटन गर्ने

दोस्रो तिलौराकोट गोल्डकपको तयारी पुरा : भोलि मुख्यमन्त्री आचार्यले उद्घाटन गर्ने

सागर वि.क., वैखरी अनलाईन ।

दोस्रो तिलौराकोट गोल्डकपको सम्पूर्ण तयारी पुरा भएको छ । उक्त गोल्डकप कपिलवस्तु जिल्ला फुटवल संघको आयोजनामा बाणगंगा नगरपालिकाको बुद्धरंगशालामा यही फागुन १४ देखि २१ गतेसम्म हुन लागेको हो ।

गोल्डकपको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिदैं अध्यक्ष तिलक थापाले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुधबार भोलि दिउँसो ३ बजे उद्घाटन गर्ने कार्यक्रम तय भएको बताए । उनले प्याराफिट, बाउण्ड्री निर्माण लगायतका बाह्य र अन्य आन्तरिक कामहरु सकिएको बताए ।

उनले कपिलवस्तुका पर्यटन क्षेत्रलाई खेल पर्यटनको माध्यमबाट विकास उद्देश्यसहित गोल्डकप गर्न लागेको स्पष्ट पारे । उनले खेल अवधिभर खेलाडीहरुलाई कपिलवस्तुका विभिन्न पर्यटकिय क्षेत्रहरुको स्थलगत भ्रमण समेत गराउने योजना रहेको सुनाए । यसले समग्र कपिलवस्तुको पर्यटकिय क्षेत्रहरुको प्रचारप्रसारसंगै पर्यटनलाई माथि उकास्न महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ ।

उनले यस गोल्डकपको समग्र कपिलवस्तु र प्रदेशवासीले नै अपनत्व लिनुपर्ने बताए । उनले कपिलवस्तु ११ र संकटा एफसीबीच फागुन १४ गते उद्घाटन खेल बताए । उनले खेलअवधिभर सम्पूर्णलाई खेल अवलोकनका लागि आह्वान गर्दै गोल्डकपलाई सभ्य र भव्य बनाउन आग्रह गरे ।

जिल्ला फुटबल संघ कपिलवस्तुका कोषाध्यक्ष गणेश बहादुर सिंह ठकुरी (शुसिल) ले गोल्डकपको उपाधि हात पार्ने टिमले रु. ११ लाख ११ हजार १११ र उपविजेता हुने टिमले ५ लाख ५५ हजार ५ सय ५५ नगद पुरस्कार पाउने जानकारी दिए ।

उनले प्रत्येक खेलको ‘म्यान अफ दि म्याच’ हुने खेलाडीलाई रु.१० हजार, विभिन्न विधागत रुपमा उत्कृष्ट खेलाडीलाई रु.३०/३० हजार  र खेलकै सर्वोत्कृष्ट खेलाडीलाई रु.५० हजार प्रदान गरिने बताए । उनले खेल हेर्न दैनिक टिकटसंगै पासको व्यवस्था गरिएको जानकारी दिए ।

पहिलो चरणका खेलहरुमा टिकटदर रु.२००, सेमिफाईनल खेलमा रु.३०० र फाईनल खेलमा रु.४०० कायम गरिएको उनले जानकारी दिए । उनले सबै खेलको पासका लागि एक हजार रुपैयाँ निर्धारण गरिएको बताए ।

उनले गोल्डकपमा कपिलवस्तु ११, संकटा एफसी, मछिन्द्र क्लव काठमाण्डौ , हिमालयन शेर्पा, नेपाल पुलिस, थ्री स्टार क्लव, विफसी चितवन र जोन्जी एफसी सिक्किम गरि ८ वटा टोलीको सहभागिता रहने जानकारी दिए ।

सम्बन्धित् समाचार