गृहपृष्ठ कपिलवस्तु बिशेष कपिलवस्तुमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको ३ महिने अभियान सुरु

कपिलवस्तुमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको ३ महिने अभियान सुरु

सागर वि.क., वैखरी अनलाईन ।

कपिलवस्तुमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको ३ महिने अभियान सुरु भएको छ । आज विहिबार जिल्लाका १० वटै स्थानीय तहमा प्रभातफेरी कार्यक्रमसहित यो अभियान सुरु भएको हो ।

बाणगंगा नगरपालिकामा विहिबार ईलाका प्रहरी कार्यालय पिपराको आयोजना तथा यस क्षेत्रका सहकारी तथा गैरसरकारी निकायको सहकार्यमा प्रभातफेरी कार्यक्रम गर्दै उक्त अभियान सुरु भएको छ ।

उक्त प्रभातफेरी कार्यक्रम बाणगंगा नगरपालिकाको मुख्य बजार क्षेत्रमा निकालिएको थियो । लागुऔषधको दुरुपयोग र कारोबारीहरुलाई पूर्णरुपमा नियन्त्रण गर्नका लागि यो अभियान थालनी भएको ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख लोकेन्द्र जिसीले प्रष्ट पारे । लागुऔषधको दुरुपयोगले व्यक्तिको स्वाथ्यमा गम्भिर असर गर्नुका साथै पारिवारिक तथा सामाजिक रुपमा क्षति हुने उनले बताए ।

उनले लागुऔषधकै दुरुपयोगले समाजमा अपराधिक घटनाहरु घट्ने गरेको बताए । उनले अभियान अन्तर्गत लागुऔषध दुरुपयोगको नकारात्मक असरका बारेमा आमसमुदायमा जचेतना फैलाउने कार्यक्रमहरु संचालन गरिने बताए । उनले प्रवेश विन्दुहरुमा सुरक्षकर्मीहरुद्धारा विशेष निगरानी राखिने बताउँदै सवारी चेकजाँचलाई थप कडाई गरिने बताए ।

बाणगंगा नगरपालिकाका उपप्रमुख रिता कुमारी चौधरीले लागुऔषधमा फसेकाहरुलाई सही बाटोमा ल्याउन र नयाँ पुस्तालाई फस्न नदिन यो अभियान महत्वपूर्ण सावित हुने बताईन् । उनले विशेषतः विद्यालय उमेरका बालबालिकाहरुलाई लागुऔषधको दुरुपयोगको असरबारे सचेत गराउनुपर्ने बताईन् ।

उनले लागुऔषधमा फसेकाहरुलाई पनि निस्कन नगरले आवश्यक सहजीकरण गर्ने प्रतिवद्धता जनाईन् । उनले लागुऔषधको दुरुपयोग सामाजिक समस्या भएको बताउँदै समाजका सबै पक्षको सहयोगले मात्र नियन्त्रण गर्न सकिने बताईन् ।

यता प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले लागुऔषध विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा नेपाल सरकारद्धारा निर्देशित कार्यक्रम अन्तर्गत यो अभियान सुरु भएको बताए । उनले यस जिल्लाका सरोकारवालाहरुसंगको समन्वयात्मक बैठकबाट पारित कार्ययोजना बमोजिम विहिबार प्रभातफेरीसहित अभियानको थालनी भएको बताए । उनले जिल्लाका १० वटै स्थानीय तहका वडा, वस्ती, विद्यालय तथा क्याम्पसहरुमा युवा केन्द्रिय भएर सचेतनामूलक कार्यक्रम गरिने बताए । उनले लागुऔषधको बढी बिगविगी रहेको क्षेत्रलाई प्राथमिकता दिएर कार्यक्रम गर्ने बताए ।

यसैबीच बाणगंगाको चानम्बरमा भएको प्रभातफेरी कार्यक्रममा श्रृङ्गिघाट सामुदायिक वन उपभोक्ता समूहले अग्नि नियन्त्रण उपकरण हस्तान्तरण गरेको छ । ईलाका प्रहरी कार्यालय र शसस्त्र वेस क्याम्प पिपरालाई २/२ ओटा अग्नि नियन्त्रण उपकरण (फायर ईक्सटिङ्ग्वीसर) हस्तान्तरण गरेको वनका अध्यक्ष सुसिलसिंह ठकुरीले जानकारी दिए ।

वनको बार्षिक स्वीकृत कार्यक्रमको विपद व्यवस्थापन अन्तर्गत अग्नि नियन्त्रण उपकरण हस्तान्तरण गरिएको उनले जानकारी दिए । उनले आगलागीबाट हुने विपद्को घटना न्यूनिकरण गर्न यो सामाग्रीले सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले गर्मी मौसममा आगोको उच्च जोखिम हुने हुँदा सो नियन्त्रणमा सहयोग पुगोस् भनेर उद्देश्यसहित उक्त उपकरण उपलब्ध गराईएको बताए ।

यता वनकी सचिव सुष्मा खाँणले विभिन्न समयमा हुन सक्ने सम्भावित विपदलाई मध्येनजर गर्दै उक्त उपकरण प्रदान गरिएको बताईन् ।

कार्यक्रममा जनप्रतिनिधि, सुरक्षा निकाय, शिक्षक, विद्यार्थी, समाजसेवी, व्यवसायी लगायतको सहभागीतामा प्लेकार्डमा विभिन्न नारासहित ¥याली निकालिएको थियोे ।

सम्बन्धित् समाचार