गृहपृष्ठ कपिलवस्तु बिशेष बाणगंगाको कार्यपालिका बैठक सम्पन्न : आगामी आवको लागि १ अर्ब ७६ करोडको स्रोत अनुमान

बाणगंगाको कार्यपालिका बैठक सम्पन्न : आगामी आवको लागि १ अर्ब ७६ करोडको स्रोत अनुमान

सागर वि.क., वैखरी अनलाईन ।

बाणगंगा नगरपालिकाको कार्यपालिका बैठक सम्पन्न भएको छ । उक्त बैठक शुक्रबार विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको हो । कार्यपालिका बैठकले अघिल्लो कार्यापालिका बैठकका निर्णयहरुको समिक्षा गरेको नगरप्रवक्ता विष्णु प्रसाद पौडेलले वैखरीलाई जानकारी दिए ।

उनका अनुसार बैठकले कार्यपालिकाका अघिल्ला निर्णयहरुको प्रभावकारी रुपमा कार्यान्वयन र सन्तोषजनक काम भएको निष्कर्ष निकालेको छ ।

बैठकले आर्थिक बर्ष २०८२/०८३ को लागि बजेटको स्रोत अनुमान गर्ने निर्णय गरेको छ । उनका अनुसार कार्यापालिका बैठकले करिब १ अर्ब ७६ करोड बराबरको स्रोत अनुमान गरेको छ ।

बैठकले आर्थिक बर्ष २०८२/०८३ को निति, कार्यक्रम तथा बजेटको प्रक्रिया सुरु गर्ने निर्णय गरेको प्रवक्ता पौडेलले जानकारी दिए ।

बैठकले यही वैशाख ८ गते वास प्लान र पर्यटन गुरुयोजना र वैशाख ९ गते भु−उपयोग गुरुयोजना सम्बन्धि प्रस्तुतिकरण गर्ने निर्णय गरेको उनले जानकारी दिए । उनका अनुसार यी प्रस्तुतिकरणका कार्यक्रमहरु नगरपालिकाको कार्यालयमै विहान ११ बजे हुने छ ।

वैशाख ११ गते दोस्रो चौमासिक समिक्षा कार्यक्रम र वैशाख १२ गते वृहत सरसफाई सम्मेलन गर्ने बैठकले निर्णय गरेको प्रवक्ता पौडेलले जानकारी दिए ।

यस्तै बैठकले कार्यापालिका सदस्य डिलबहादुर खाँतीको आमा मुवा खाँतीको यही वैशाख ३ गते भएको दुखत निधन र गजेहडा स्वास्थ्य चौकी प्रमुख स्वास्थ्यकर्मी कृष्ण बहादुर बस्नेतको आमाको निधनप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्ने निर्णय समेत गरेको छ ।

उक्त बैठकमा नगरप्रमुख चक्रपाणी अर्यालले चालु आर्थिक बर्षका योजनाहरु समयमै सम्पन्न गर्ने दिशातर्फ अघि बढ्न जनप्रतिनिधि र कर्मचारीहरुलाई निर्देशन दिएका थिए भने आगामी आर्थिक बर्षको निति, कार्यक्रम र बजेट कार्यान्वयनमुखी ल्याउन आग्रह गरे ।

उनले बाणगंगामा आधारभूत भौतिक पूर्वाधारका कामहरु अधिकांश भईसकेको भन्दै अब सामाजिक विकासलाई प्राथमिकतामा राखेर कार्यक्रम ल्याउनुपर्ने बताए ।

सोही क्रममा नगरउपप्रमुख रिता कुमारी चौधरीले पूर्ण सरसफाई नगर बनाउने अभियानमा सबै सरोकारवालाहरुसंग हातेमालो गर्दै अघि बढ्न नगर प्रतिवद्ध रहेको बताए ।

उनले नगरको यस अभियानलाई सफल बनाउन सबैलाई आह्वान समेत गरेका छन् । उक्त कार्यापालिका बैठकमा समसामयिक विषयमा छलफल समेत भएको थियो ।

सम्बन्धित् समाचार