गृहपृष्ठ Featured लुम्बिनी कपको उपाधिका लागि एपीएफ र पुलिस भिड्ने

लुम्बिनी कपको उपाधिका लागि एपीएफ र पुलिस भिड्ने

नेपालगन्ज ।

विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लब र नेपाल पुलिस क्लब लुम्बिनी कपमा उपाधिका लागि भिड्ने भएका छन् ।

लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको नेपालगन्ज रंगशालामा बुधबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा रौतहट फुटबल सँगको टोलीलाई ३–० गोल अन्तरले पराजित गर्दै एपीएफ क्लब फाइनलमा प्रवेश गरेको हो ।

एपीएफको तर्फबाट दोस्रो हाफमा अनिता केसी, निशा ठोकर र सबिता राना मगरले १–१ गोल गरे । खेलमा म्यान अफ दि म्याच एपीएफकी अनिता केसी भइन् ।

विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा ६–५ ले निराश बनाउँदै पुलिस क्लब पहिलो लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको फाइनल यात्रा तय गरेको थियो ।

प्रतियोगितामा घरेलु टिम बाके–११, सशस्त्र प्रहरी बलको एपीएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली एफसी, सुदूरपश्चिम एफसी, सिलिगुडी फुटबल क्लब, रौतहट जिल्ला फुटबल संघ टिमसहित ८ वटा टिमको सहभागिता छ ।

बाँके जिल्ला फुटबल सघ सँगको सहकार्यमा भएको प्रतियोगिताका विजेता टिमले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता टिमले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल र पुरस्कार प्राप्त गर्ने आयोजक अन्तरालले जनाएको छ । प्रतियोगिता फाइनल खेल वैशाख १२ गते हुने छ ।

सम्बन्धित् समाचार