गृहपृष्ठ अन्तरास्ट्रिय खबर २० वर्षसम्म कोमामा रहेका साउदीका राजकुमार वालिदको निधन

२० वर्षसम्म कोमामा रहेका साउदीका राजकुमार वालिदको निधन

४ साउन, काठमाडौं । दुई दशकसम्म कोमामा रहेका साउदी अरबका राजकुमार अल वालिद बिन खालिद बिन तलाल अल साउदको निधन भएको छ ।

कार दुर्घटनामा परी गम्भीर घाइते भएका उनलाई २० वर्षसम्म कोमामा राखिएको थियो । लामो समयसम्म कोमामा रहेका कारण उनी ‘स्लिपिङ प्रिन्स’ नामले परिचित थिए ।

गल्फ न्युजका अनुसार सन् २००५ मा १५ वर्षको छँदा बेलायतको लन्डनमा सैनिक तालिम लिइरहेका बेला उनी सवारी दुर्घटनामा परेका थिए । उक्त दुर्घटनामा उनको मस्तिष्कमा गम्भीर चोट लागेर आन्तरिक रक्तस्राव भएको थियो ।

उपचारका लागि अमेरिकी र स्पेनिस चिकित्सकहरूको टोली समेत संलग्न भए पनि उनी कहिल्यै पूर्णरूपमा होसमा फर्कन सकेनन् । दुई दशकसम्म उनको अवस्थाले सहानुभूति र ध्यान खिचेको थियो ।

निको हुने आश

राजकुमार वालिद अचेत अवस्थामा रहे पनि कहिलेकाहीँ हुने अनियन्त्रित शरीरका हल्का गतिविधिले केही आशा भने दिलाउँथ्यो । त्यसैले उनका पिता राजकुमार खालिदले जीवन रक्षाका उपकरणहरू हटाउन चित्किसहरुले दिने सुझावहरू सार्वजनिक रूपमा अस्वीकार गरेका थिए । उनले सधैं ईश्वरीय चमत्कारप्रति विश्वास राख्दै छोरा निको हुने आशा राखेका थिए ।

कोमामा रहेका बेला छोरा वालिदलाई चुम्बन गर्दै उनका पिता खालिद

परिवारका सदस्यहरुले अचेत राजकुमारलाई कुरानको पाठ सुनाउँथे । त्यतिबेला उनका शरीरका अंग केही चलमलाएको जस्तो देखिने भिडियोहरू सार्वजनिक गरेका थिए । ती भिडियोहरूले जनतामा गहिरो सहानुभूति र सम्मान जगाएको थियो ।

सम्बन्धित् समाचार