गृहपृष्ठ अन्तरास्ट्रिय खबर इरानमा गर्मीका कारण पानीको चरम अभाव, कम प्रयोग गर्न नागरिकलाई आग्रह

इरानमा गर्मीका कारण पानीको चरम अभाव, कम प्रयोग गर्न नागरिकलाई आग्रह

गर्मीका कारण पानीको चरम अभाव भइरहेका बेला इरानी अधिकारीहरूले नागरिकलाई पानीको खपत सीमित गर्न आग्रह गरेका छन् । विशेषगरी इरानका दक्षिणी प्रान्तहरूमा पानीको अभाव छ ।

खानेपानी अभावका लागि भूमिगत स्रोतहरूको सही व्यवस्थापन नहुनु र हिफाजत नगर्नु वा अत्यधिक खर्च गर्नुका साथै जलवायु परिवर्तनको बढ्दो प्रभावलाई दोषी ठहर्‍याइएको छ ।

यसैबीच तेहरान नगर परिषद्का अध्यक्ष मेहदी चाम्रानले पानीको मागको दबाव कम गर्न मुहानहरूको संरक्षण र पानीको हिफाजतपूर्ण प्रयोग गर्नुपर्नेमा जोड दिनुभएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

इरानको राष्ट्रिय मौसम सेवाले हिजो अहिलेसम्मकै सबैभन्दा गर्मी हप्ता कायम भएको र केही क्षेत्रमा तापक्रम ५० डिग्री सेल्सियसभन्दा धेरै पुगेको जनाएको थियो ।

तेहरानको प्रान्तीय जल व्यवस्थापन कम्पनीले पानीको अभाव कम गर्न ‘कम्तीमा २० प्रतिशत’ प्रयोग घटाउन आह्वान गरेको छ । इरानलाई पानी आपूर्ति गर्ने बाँधका जलाशयहरू अहिले ‘एक शताब्दीको सबैभन्दा न्यून स्तरमा रहेको’ खबरमा उल्लेख छ ।

अधिकारीहरूले सङ्कटलाई कम गर्न राजधानीका केही भागहरूमा पानीको चाप घटाएका छन् । यसको परिणाम स्वरूप केही क्षेत्रमा ‘१२ देखि १८ घण्टासम्म पानी कटौती’ भएको इरानी पत्रिका जावनले जनाएको छ ।

सम्बन्धित् समाचार