गृहपृष्ठ कपिलवस्तु बिशेष कपिलवस्तुमा गहुँ सुपर जोन थप्नु पर्ने माग

कपिलवस्तुमा गहुँ सुपर जोन थप्नु पर्ने माग

किरणमान बज्रार्चाय, कपिलवस्तु ।

कपिलवस्तु जिल्ला समन्वय समितिका प्रमुख बावुराम आचार्यले जिल्लामा गुह सुपर जोन थप्नु पर्ने माग गरेका छन् । जिल्लामा ३१ हजार ७३५ हेक्टर क्षेत्रमा गहुँ खेती गर्ने गरिएको छ । अन्य बालीमा  तुलनामा लगत खर्च कम हुने र आम्दानी समेत बढी हुने तथा धान पछि दोश्रो बालीका रुपमा गहुँ खेती बढी गर्ने गरिएकाले जिल्लामा गहुँ सुपर जोन थप्नु पर्ने उनले बताए ।

राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रम कार्यान्वयन एकाइ, कपिलवस्तुले बाणगंगा नगरपालिकाको ४ नम्बरमा आर्थिक वर्ष २०८१÷ ०८२ को सार्वजनिकीकरण तथा आगामी आर्थिक वर्षका कार्यक्रममा उनले सो माग गरेका हुन । जिल्लामा धान, तरकारी, माछा सुपर जोन सञ्चालन हुँदै आएको छ । आचार्यले कपिलवस्तुका ९६ वटै वडाहरूमा धान सुपर जोन कार्यक्रम लागु गर्नु पर्ने बताए । आधुनिक तवरले कृषिको उत्पादन हुनुपर्ने भन्दै कृषिको आधुनिकीकरणमा उनले जोड दिए । कार्यान्वयन एकाइ, कपिलवस्तुका वरिष्ठ कृषि अधिकृत राकेश कुमार ओझाले गहुँ सुपर जोनकालागि आफुले पटक पटक सम्बन्धित निकायलाई जानकारी गराएको बताए ।  कपिलवस्तु गहुँमा आत्म निर्भर बन्न सक्ने आधारहरू प्रशस्त रहेको उनले बताए।

कपिलवस्तुको बाणगंगा, कपिलवस्तु, बुद्धभूमि नगरपालिका, मायादेवी गाउँपालिका र शुद्धोधन गाउँपालिका गरी ३४ वटा वडाहरूमा अहिले धान सुपर जोन कार्यक्रम सञ्चालनमा रहेको छ । यसैगरी तरकारी जोन कार्यक्रम बुद्धभूमि नगरपालिका, कपिलवस्तु नगरपालिका र मायादेवी गाउँपालिकाका १४ वटा वडामा लागु भएको छ भने माछा जोन कार्यक्रम ५ वटा पालिकाका ३९ वटा वडामा सञ्चालित छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति कपिलवस्तुका उपप्रमुख रमेश कुर्मी, सहायक प्रमुख जिल्ला अधिकारी पदमलाल लामिछाने, जिल्ला समन्वय अधिकारी जर्नादन अधिकारी लगायतले बोल्दै कार्यक्रम सञ्चालन गर्दा ३ वटै निकायले सहकार्य गर्नुपर्ने बताए । जोनले सञ्चालन गरेका कार्यक्रम प्रभावकारी रहेको भन्दै थप कृषकमैत्री कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । दोहरोपन हटाउनु पर्ने र अनुदान लिने कृषकसँग फारम भदौ नै प्रतिबद्धता समेत लिनु पर्ने बताए । डाक्टर महेन्द्र यादवले माछा जोन कार्यक्रम अन्तरगत जिल्लामा रहेको ५ वटा ह्याचरी मध्ये २ वटा जीर्ण अवस्थामा रहेकोले अब निर्माण गर्दा दीर्घकालीन योजनाका साथ काम गर्नु पर्ने बताए ।

उनले भुराहरू बिक्री नहुँदा ह्याचरीउद्योग संचालमा समस्या आउने गरेको बताए । कार्यक्रममा विभिन्न पालिकाका कृषि तथा पशु विकास शाखाका प्रमुख, प्राविधिक तथा संचारकर्मीको सहभागिता रहको थियो । कृषि यान्त्रीकरणको प्रयोग बढाउँदै लानु पर्नेमा जोड दिइएको थियो । चालु आर्थिक बर्ष बिजयनगरमा ह्याचरी संचालनकालागि बजेट विनियोजन गरिएको छ । यस्तै कालनमक धानको बीउमा अनुदान, कृषि यन्त्र लगायतका बजेट छ ।

सम्बन्धित् समाचार