गृहपृष्ठ Featured सिद्धबाबा खण्डको ४ किलोमिटर पार गर्न सधै सास्ती

सिद्धबाबा खण्डको ४ किलोमिटर पार गर्न सधै सास्ती

पाल्पा ।

सिद्दार्थ राजमार्गको पाल्पा–बुटवल सडक खण्ड अन्तर्गत सिद्धबाबा क्षेत्रको चार किलोमिटर सडक पार गर्न हिउँद तथा वर्षायाम जहिलेसुकै सास्ती छ । यहाँको चार किलोमिटर क्षेत्रमा १० वर्षदेखि खाल्डाखुल्डी पुरिएको छैन ।

जसले गर्दा सानाठूला सवारी साधनका साथै यात्रुले जहिलेसुकै सास्ती खेप्नु परेको हो । हिउँदभर धुलाम्मे र वर्षायाममा हिलाम्मे हुने गरेको छ ।

‘सानाठूला सवारी साधनलाई मात्र होइन, एम्बुलेन्सलाईसमेत जहिलेसुकै सास्ती खेप्नुपर्छ,’ रम्भा गाउँपालिका–५, ताहुँका डा. पुजन श्रेष्ठले भने, ‘विदेशमा आधा दिनमै यतिउति किलोमिटर सडक कालोपत्र हुन्छ भन्ने सुन्दा अचम्म लाग्छ । हाम्रो देशमा भने आधा जिन्दगीसम्म पनि काम सकिँदैन, अझ सिद्धबाबा क्षेत्रमा चार किलोमिटरको हालत उहिलेदेखि नै उस्तै छ ।’

उनका अनुसार सबै भन्दा बढी समस्या एम्बुलेन्स चालक र त्यसभित्र रहेका बिरामीलाई हुने गरेको छ । आपतकालीन बत्ती बलिरहेको हुन्छ तर चालकले छिटो गुडाउन पनि नसक्ने अवस्था रहेको उनले सुनाए ।

एम्बुलेन्सभित्र सुतेको बिरामीलाई झन् गाह्रो हुन्छ भने स–साना खाल्डा–खुल्डीलाई समेत बचाउँदै सावधानीपूर्वक चलाउनु पर्ने बाध्यता चालकलाई रहेको उनले बताए । ‘कहिले पुर्ने हो त्यो खाल्डो ? कहिले पाउने हो राम्रो बाटो ?’ डा. श्रेष्ठले सामाजिक सञ्जालमै रोष पोखेका छन्, ‘कालोपत्र भयो भन्ने मात्र हो ठूलो पहाड उठाएजस्तै छ । बीचबीचमा अनि रातिको समयमा त झन् नराम्रो दुर्घटना हुने सम्भावना देखिन्छ ।’

सम्बन्धित् समाचार