गृहपृष्ठ Featured साउदी अरबमा विवाहअघि बच्चा जन्माएकी महिलालाई १०० कोर्रा हान्ने सजाय

साउदी अरबमा विवाहअघि बच्चा जन्माएकी महिलालाई १०० कोर्रा हान्ने सजाय

साउदी अरबमा एक केन्याली आमालाई विवाहअघि बच्चा जन्माएको आरोपमा १०० कोर्रा हान्ने सजाय सुनाइएको छ ।

साउदी सरिया कानून प्रणालीअन्तर्गत विवाहविनाको यौनसम्बन्ध एक फौजदारी अपराध हो । अधिकारवादी समूहहरूले यस सजायको निन्दा गर्दै यसलाई हिंसात्मक कार्य भनेका छन् ।

४० वर्षीया एस्थर वानजा मुथोनीलाई रियादमा रहेकाे फौजदारी अदालतले गएकाे अक्टोबरमा दोषी ठहर गरेको थियो । यससम्बन्धी फैसला गएकाे महिना सुनाइएको थियो।

बेलायतको पत्रिका गार्जियन अनुसार मुथोनी घरको काम गर्ने सहयोगी र बालबालिकाको हेरचाह गर्ने कामका लागि साउदी अरब गएकी थिइन् । मुथोनीले इजिप्टेली पुरुषसँगको सम्बन्धका क्रममा गर्भवती भएको र त्यसपछि उनी देश छोडेर गइसकेको बताएकी छिन् ।

साउदी अरबमा धेरै अविवाहित महिलाहरूले बच्चा जन्माउने गरेका छन् । तर ती केन्याली महिलालाई अस्पताल लगिएका कारण घटना बाहिर आएको हो । अधिकारवादी समूहहरूका अनुसार साउदी अरबमा अविवाहित महिलाले बच्चा जन्माएको खण्डमा अस्पतालले सम्बन्धित निकायलाई जानकारी गराउनुपर्ने नियम छ ।

अविवाहितहरूमध्ये धेरैजसोले घरमै बच्चा जन्माउने हुँदा त्यसको अभिलेख नराखिने खाडी क्षेत्रमा आप्रवासी कामदारहरूको अधिकारका लागि वकालत गर्ने ’डु बोल्ड’ नामक गैरनाफामूलक संस्थाकी संस्थापक एकातेरिना पोरास सिभोलोबोभाले बताउनुभयो ।

सम्बन्धित् समाचार