वैखरी अनलाईन, बाणगंगा ।
जेन-जी आन्दोलनका क्रममा कपिलवस्तुका विभिन्न स्थानमा भएको आगजनी तथा तोडफोडका घटनामा संलग्न व्यक्तिहरु विरुद्ध प्रमाण संकलन कार्यलाई प्रहरीले तीव्र पारेको छ।
प्राप्त जानकारीअनुसार आन्दोलनकारीको समूहले विशेषगरी बाणगंगामा एमाले, कांग्रेस र माओवादी नेताहरुको निजी घरमा आक्रमण गरी तोडफोडपछि आगजनी गरेका थिए। घटनामा घरभित्र रहेका सबै सामान जलेर नष्ट भएका छन्।
यसैबीच, जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले आन्दोलनका क्रममा भएका आगजनी, लुटपाट, तोडफोड तथा त्रास सिर्जना गर्ने घटनासँग सम्बन्धित तस्बिर, भिडियो वा सामाजिक सञ्जाल लिंक उपलब्ध गराउन सर्वसाधारणसँग आग्रह गरेको छ।
प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङका अनुसार घटनास्थलको मुचुल्का संकलन तथा अनुसन्धान कार्य जारी छ। उनले सार्वजनिक सम्पत्ति तोडफोड र आगजनी गर्ने व्यक्ति तथा त्यसको नेतृत्व गर्नेहरुको पहिचान गरी कानुनअनुसार कारबाही गर्न तयारी भइरहेको बताए।








