गृहपृष्ठ कपिलवस्तु बिशेष लिभिङ टुगेदरमा बस्ने प्रेमिकालाई मार्ने प्रयास : कपिलवस्तुमा नाटकीय ढंगले पक्राउ

लिभिङ टुगेदरमा बस्ने प्रेमिकालाई मार्ने प्रयास : कपिलवस्तुमा नाटकीय ढंगले पक्राउ

कपिलवस्तु ।

लिभिङ टुगेदरमा बसेकी महिलालाई हत्या गर्ने प्रयासमा संलग्न एक भारतीय नागरिक नाटकीय ढंगले पक्राउ परेका छन्। कपिलवस्तु नगरपालिका–४ लौसा गाउँनजिक तौलिहवा–बहादुरगञ्ज सडक खण्डमा कारभित्रै प्रेमिकालाई डोरीले घाँटीमा कसेर हत्या गर्न खोज्ने भारतको उत्तर प्रदेश सिद्धार्थनगर चिल्हिया थानाका ३५ वर्षीय हफिजूल्लाह मुसलमानलाई प्रहरीले पक्राउ गरेको हो।

घटनाबारे जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा आयोजित पत्रकार भेटघाटमा प्रहरी उपरीक्षक सन्तोष आचार्यले विस्तृत जानकारी दिएका छन्। उनका अनुसार गत कार्तिक १५ गते बिहान मुसलमानले आफ्नी प्रेमिकालाई हत्या गर्ने योजनासहित चन्द्रौटाबाट तौलिहवा तर्फ ल्याएका थिए।

ती दुवै जनाबीच तीन वर्षदेखि लिभिङ टुगेदरको सम्बन्ध रहेको खुलेको छ। प्रेमसम्बन्धका क्रममा महिलाले मुसलमानको पारिवारिक जीवनमा दरार पारेको भन्दै उनले हत्या गर्ने योजना बनाएका थिए। सो योजनाअनुसार मुसलमानले एक लाख रुपैयाँ सुपारी दिएर अपराधीहरूसँग मिलेर प्रेमिकालाई हत्या गर्न खोजेका थिए।

मुसलमानले विवाह गर्ने बहानामा प्रेमिकालाई बोलाई कार ९युपी ५५ एबी ६९७९०मा बसेर तौलिहवा तर्फ ल्याउँदा बाटोमा उनले डोरीले महिलाको घाँटी कसेर हत्या गर्न खोजेका थिए। तर, महिलाले प्रतिकार गर्दै हातखुट्टा चलाउँदा कारको स्टेरिङमा खुट्टा लागेको र त्यसपछि कार अनियन्त्रित भई ना १ ख ४९५० नम्बरको ट्रकसँग ठोक्किएको प्रहरीले जनाएको छ।

 

दुर्घटनापछि प्रेमिकाले होहल्ला गर्न थालेपछि ट्रक चालक र सहचालकले तत्काल घटनास्थलमै मुसलमानलाई नियन्त्रणमा लिएर प्रहरीले बुझाएका थिए। महिलालाई भने घाइते अवस्थामै उद्धार गरी उपचारका लागि कपिलवस्तु अस्पताल लगिएको थियो।

 

प्रहरीका अनुसार गत असोज ३१ गते मुसलमान बुटवलमा प्रेमिकासँग रात बिताएर फर्केका थिए। त्यस रातको तस्बिर महिलाले मुसलमानकी श्रीमतीको मोबाइलमा पठाएपछि उनको पारिवारिक सम्बन्ध विग्रिएको थियो। त्यसपछि उनले महिलालाई ‘कोर्ट म्यारिज गर्ने’ बहानामा चन्द्रौटा बोलाएर हत्या गर्ने योजना बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

 

घटनास्थलबाट प्रहरीले नाइलन डोरी, गम्छा र  बुम माइक बरामद गरेको छ। यस आधारमा मुसलमान पत्रकारसमेत हुन सक्ने प्रहरीको अनुमान छ।

पीडित महिलाको किटानी जाहेरीका आधारमा मुसलमानविरुद्ध मुद्दा दर्ता गरिएको छ। अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरी उपरीक्षक आचार्यले जानकारी दिएका छन्।

सम्बन्धित् समाचार