गृहपृष्ठ खबर अहिले बाघको छालामा स्यालको रजाइँ भइरहेको छ: ओली

अहिले बाघको छालामा स्यालको रजाइँ भइरहेको छ: ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनलाई प्रतिक्रान्तिको संज्ञा दिँदै अहिलेको सरकार आगजनी, तोडफोड र लुटपाटबाट बनेको आरोप लगाएका छन्।

च्यासलस्थित पार्टी कार्यालयमा मंगलबार पार्टीका निवर्तमान सांसदहरूको बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले जेनजी आन्दोलन र सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारविरूद्ध रोष प्रकट गरेका छन्।

भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको बलमा तत्कालीन प्रधानमन्त्री ओली पदच्यूत भएका थिए। त्यसबेला आन्दोलनकारीको आक्रमणबाट जोगिन ओली हेलिकप्टर चढेर भागेका थिए। उनै ओलीले जेनजी आन्दोलनप्रति तिखो टिप्पणी गरेका हुन्।

‘उनीहरू भन्छन् अहिलेको सरकार क्रान्तिबाट बन्यो, कहाँ भयो क्रान्ति? नेपालमा त प्रतिक्रान्ति भएको छ,’ उनले भने, ‘सम्पदा जलाइएको छ। मान्छे यत्रोविघ्न मरेका छन्। यो बलिदान क्रान्तिका लागि भएन। यसले देशलाई पछाडि फर्कायो। लोकतन्त्र भत्कायो। संविधान मिच्यो। र, संविधानमा नभएको मात्र होइन, संविधानले हुन्न भनेको सरकार बन्यो।’

ओलीको आरोप थियो ‘यो सरकार स्पष्टतः लोकतान्त्रिक विधि प्रक्रियाबाट निर्वाचित भएको होइन। यो भ्रम नरहोस्, सरकार कुनै जनक्रान्तिबाट बनेको होइन। यो आगजनी, तोडफोड र लुटपाटबाट बनेको सरकार हो। आगजनी, तोडफोड र लुटपाटलाई क्रान्ति, विद्रोह र आन्दोलन भनिँदैन।’

सरकार निर्माण र संसद् विघटन दुवै असंवैधानिक भएको दाबी गर्दै ओलीले अहिले बाघको छालामा स्यालको रजाइँ भइरहेको बताए।

 

‘जनताद्वारा निर्वाचित संसद अनधिकृत ढंगबाट विघटन गरिएको छ, मैले भन्दै आएको छु हाहुबाट सरकार बनेको छ,’ उनले भने ‘ विधिवत बनेको सरकार अपदस्त गरेर, विधिवत बनेको संसद विघटनको सिफारिश गरेर, देशलाई प्रतिकूल दिशामा लान खोजिएको छ।’

सम्बन्धित् समाचार