घनश्याम भर
(विजयनगर) कपिलवस्तु, १४ मंसिर ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा पोषणमैत्री स्थानीय शासनमा शिक्षा क्षेत्रको भूमिकाबारे अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
विजयनगर गाउँपालिकाको आयोजनामा र किड्स नेपाल/प्लान इन्टरनेशनलको सहयोगमा आइतबार गाउँपालिकाको सभाहल खडैचामा अभिमुखीकरण तथा अन्तरक्रिया गरिएको किड्सका कार्यक्रम संयाेजक असगर हुसेन धुनियाले जानकारी दिए ।
उनले विद्यालय तहमा पोषणमैत्री योजना निर्माणसहित कार्यक्रमले शैक्षिक क्षेत्रलाई पोषण संवर्द्धनमा सक्रिय बनाउने उद्देश्यले साे कार्यक्रम राखिएको बताए ।
कार्यक्रमलाई सम्बाेधन गर्दै विजयनगर गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापाले पोषणमैत्री स्थानीय शासन प्रभावकारी कार्यान्वयनका लागि विद्यालय क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताएका थिए । उनले व्यवस्थापन समिति र शिक्षकहरुलाई याेजना अनुसार अगाडी बढ्न अनुरोध गरे ।
अभिमुखीकरणमा ५ ओटा विद्यालयका प्रधानाध्यापक, फोकल शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा विद्यार्थी गरी २५ जनाको सहभागिता थियो । यससँगै ६ का वडा अध्यक्ष प्रेमबहादुर कलवार, ५ का वडा अध्यक्ष अनवर मोहम्मद मुसलमान, ३ का वडा सदस्य मोहम्मद सई लगायत जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई विजयनगर शिक्षा शाखा प्रमुख हरिहर बेल्बासे र स्वास्थ्य शाखाका प्रमुख यज्ञ प्रसाद अधिकारीले अन्तरक्रिया कार्यक्रमलाई सहजीकरण गरेका थिए ।
सम्बन्धित विद्यालयहरूले अब तयार योजना व्यावहारिक रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।







