गृहपृष्ठ Featured राष्ट्रिय लिग फुटबलमा एनआरटीलाई हराउँदै मच्छिन्द्रको विजयी शुरूआत

राष्ट्रिय लिग फुटबलमा एनआरटीलाई हराउँदै मच्छिन्द्रको विजयी शुरूआत

काठमाण्डौ – मच्छिन्द्र फुटबल क्लबले राष्ट्रिय लिग फुटबलमा विजयी शुरूआत गरेको छ । त्रिपुरेश्वरको दशरथ रंगशालामा हिजो भएको खेलमा मच्छिन्द्रले न्यूरोड टिम (एनआरटी) लाई १–० ले पराजित गरेको हो ।

एलिक श्रेष्ठको निर्णायक गोलमा मच्छिन्द्रले पहिलो खेलमै जीत निकालेको हो । एलिकले खेलको ६२औँ मिनेटमा गोल गरे । यसैबीच राष्ट्रिय लिग फुटबलअन्तर्गत आज तीन वटा खेल हुँदैछन् । पहिलो खेल चित्लाङ फुटबल क्लब र नव जनजागृति क्लबबीच दिउँसो १२ बजे एन्फा कम्प्लेक्समा हुनेछ ।

यस्तै, दोस्रो खेल दिउँसो २ बजे त्रिभुवन आर्मी क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच दशरथ रंगशालामा हुनेछ । आजको तेस्रो खेल प्लानिङ ब्वाइज युनाइटेड र नेपाल पुलिस क्लबबीच बेलुकी साढे ६ बजे दशरथ रंगशालामै हुनेछ । गएको पुस ३० गतेदेखि राष्ट्रिय लिग शुरू भएपनि औपचारिक उद्घाटन हिजो गरिएको हो ।

युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले प्रतियोगिताको उद्घाटन गर्नुभयो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भएको राष्ट्रिय लिग फुटबलमा ‘ए’ डिभिजनका १३ र एन्फा प्रेसिडेन्ट लिगका ४ गरि १७ वटा टोली सहभागी छन् । सिङ्गल राउन्ड रोबिनका आधारमा सञ्चालन हुने लिगमा कूल १ सय ३६ खेल हुनेछन् ।

राष्ट्रिय लिगका खेलहरू दशरथ रङ्गशाला, च्यासल रङ्गशाला र एन्फा कम्प्लेक्समा भइरहेका छन् । लिगको विजेताले ५० लाख रुपैयाँ पुरस्कार पाउने छ ।

सम्बन्धित् समाचार