पाकिस्तानको निर्वाचन आयोगले वार्षिक सम्पत्ति तथा दायित्व विवरण समयमै पेश नगरेको भन्दै राष्ट्रिय र प्रादेशिकसभाका १ सय ५२ जना सांसदको सदस्यता निलम्बन गरेको छ ।
त्यहाँको निर्वाचन आयोगका अनुसार निर्वाचन ऐन, २०१७ को धारा १३७ अन्तर्गत सांसदहरूले आफ्नो, जीवनसाथी तथा आश्रित सन्तानको सम्पत्ति विवरण तोकिएको समयसीमा भित्र बुझाउनुपर्ने व्यवस्था छ । जनवरी १५ तारिखसम्म विवरण नबुझाउने सांसदलाई विवरण पेश नगरेसम्म तत्काल कार्य गर्न नपाउने गरी निलम्बन गरेको भारतीय पत्रिका ट्रिब्यून दैनिकले जनाएको छ ।
निलम्बित हुनेहरूमा राष्ट्रिय सभा, सिनेट तथा चारै प्रदेश सभाका सदस्यहरू समावेश छन् । प्रदेशगत रूपमा हेर्दा पंजाब सभाबाट ५०, सिन्ध सभाबाट ३३, खैबर पख्तुनख्वा सभाबाट २८ र बलोचिस्तान सभाबाट ७ जना सांसद निलम्बनमा परेका छन् ।
त्यहाँ निर्वाचन आयोगले यसअघि पनि गएको वर्ष १ सय ३९ सांसदलाई यही कारणले निलम्बन गरेको स्मरण गराउँदै कानुनी व्यवस्था पालना गर्न सबै जनप्रतिनिधिलाई आग्रह गरेको छ ।







