तस्वीर : एपी
युक्रेन युद्धमा बङ्गलादेशी कामदारहरूलाई कामको झुटो आश्वासन दिएर रुस लगिएको र पछि लडाइँमा जबरुजस्ती धकेलिएको प्रतिवेदन सार्वजनिक भएको छ ।
रुसबाट भाग्न सफल तीन बङ्गलादेशी पुरुष तथा बेपत्ता रहेका अन्य तीन जनाका परिवारसँग गरेको अन्तर्वार्ताका आधारमा समाचार संस्था एसाेसिएटेड प्रेस (एपी) ले श्रम भर्तीकर्ताहरूले गरेको सङ्गठित छलकपटको विवरण सार्वजनिक गरेको हो ।
एपीका अनुसार मकसुदुर रहमान, मोहन मियाजी र जहाँगीर आलमले आफूहरूलाई खाना पकाउने, सरसफाइ गर्ने र लुगा धुनेजस्ता नागरिक कामको वाचा गरेर रुस लगिएको तर त्यहाँ पुगेपछि अनजानमै सैन्य सेवाको सम्झौतामा हस्ताक्षर गराइएको बताएका छन् । पछि उनीहरूलाई युक्रेन युद्धको अग्रपङ्क्तिमा आपूर्ति ढुवानी, घाइतेहरूको उद्धार र शव सङ्कलनजस्ता अत्यन्त जोखिमपूर्ण काममा बाध्य पारिएको थियो ।
एपीको अनुसन्धानअनुसार बङ्गलादेशका गरिब समुदायमा सक्रिय श्रम एजेन्टहरूले सन् २०२४ को अन्त्यतिर आकर्षक तलब र भविष्यमा रुसमा बसोबासको अवसरको आशा देखाउँदै प्रलोभनमा पारेका थिए । धेरैले एजेन्टलाई तिर्नुपर्ने शुल्क जुटाउन ऋण लिनु परेको वा सम्पत्ति बेच्नु परेको खबरमा उल्लेख छ ।
अहिले युक्रेन युद्धमा कति बङ्गलादेशी लडिरहेका छन् भन्ने स्पष्ट तथ्याङ्क छैन । तर फर्केका ती तीन जनाले यो सङ्ख्या सयौँमा हुनसक्ने अनुमान गरेका छन् । एक बङ्गलादेशी प्रहरी अनुसन्धानकर्ताका अनुसार युद्धमा झन्डै ४० जना बङ्गलादेशीको ज्यान गएको हुनसक्ने आशङ्का छ ।
रुस पुगेपछि धेरैलाई उनीहरूले नबुझेको रुसी भाषामा लेखिएका सैन्य सम्झौतामा हस्ताक्षर गर्न बाध्य पारिएको थियो । शुरूमा यो सामान्य प्रक्रिया हो भन्ने विश्वास दिलाइए पनि केही समयमै उनीहरूलाई सैनिक शिविरमा लगेर आधारभूत तालिम दिइयो । ड्रोनसम्बन्धी तालिमसमेत दिइएपछि उनीहरूलाई शङ्का पैदा भयो । परिवार र स्थानीय एजेन्टलाई सोध्दा युद्धग्रस्त देशमा यस्तो तालिम अनिवार्य भएको जवाफ दिइयो ।
जब अग्रपङ्क्तिमा पठाइने कुरा स्पष्ट भयो, केहीले विरोध गरे । तर जेल, कुटपिट र मृत्युसम्मको धम्की दिइएपछि उनीहरू आफू फसेको महसुस गर्न बाध्य भए । कतिपयलाई द्वन्द्वमा मानव ढालझैँ प्रयोग गरिएको अनुभव पनि रहेको उनीहरूको भनाइ छ ।
एपीले स्वेच्छाले सैन्य सेवामा साइन–अप गरेका केही बङ्गलादेशीहरू पनि झूटा आश्वासनमा परेको उल्लेख गरेको छ । दुर्गम क्षेत्रमा ग्यास प्रशोधन केन्द्रमा काम गरिरहेका एक जना व्यक्तिलाई लडाइँबाट टाढाको प्राविधिक भूमिका दिने भनिए पनि अन्ततः उनलाई युक्रेनको युद्ध क्षेत्रमा पठाइयो । आदेश नमानेपछि उनले धम्की र कुटपिट सहनुपरेको र अन्ततः शव सङ्कलनको काम गर्न बाध्य पारिएको बताएका छन् ।
यसैबीच बङ्गलादेशी अधिकारीहरूले युक्रेन युद्धमा लड्न मानिसहरू पठाउने मानव बेचबिखन सञ्जालको अनुसन्धान थालेका छन् । जनवरी २०२५ मा एक व्यक्ति रुसबाट फर्किएपछि आफू ठगिएको उजुरी दिएसँगै अनुसन्धान शुरू भएको थियो । यस क्रममा मस्कोमा बसोबास गर्ने रुसी नागरिकता लिएका एक बङ्गलादेशीमाथि समेत आरोप लागेको छ ।
एपीका अनुसार बङ्गलादेशीहरूलाई एसपी ग्लोबल नामक स्थानीय भर्ती एजेन्सीमार्फत रुस पठाइएको थियो । अहिले यो कम्पनी निष्क्रिय रहेको र सन् २०२५ मै यसको गतिविधि बन्द भएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।








