वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तु–१ मा आगामी प्रतिनिधिसभा निर्वाचनलाई लिएर राजनीतिक सरगर्मी चुलिँदै जाँदा स्वतन्त्र उम्मेदवार आशिष शर्माको उम्मेदवारीले विशेष ध्यान खिचेको छ । शर्माले स्वतन्त्र रूपमा उम्मेदवारी दिएपछि यो क्षेत्रको चुनावी प्रतिस्पर्धा झनै रोचक र अर्थपूर्ण बनेको छ ।

आत्मसात गर्दै सुशासन, विकास, पारदर्शिता र ऐतिहासिक जिल्ला कपिलवस्तुको पहिचान स्थापित गर्ने मुद्दासहित शर्माले घरदैलो अभियानलाई तीव्र बनाएका छन् ।

जिल्लामा राम्रो राजनीतिक पहिचान बनाइसकेका युवा नेता शर्माको उम्मेदवारीले युवादेखि वृद्धसम्मको समर्थन पाउँदै गएको देखिन्छ । अहिले कपिलवस्तु–१ मा राजनीतिक दलका उम्मेदवारभन्दा स्वतन्त्र उम्मेदवार शर्माको चर्चा बढी हुने गरेको स्थानीय बताउँछन् । कांग्रेसबाट अतहर कमाल मुसलमान, एमालेबाट विश्रामप्रसाद चौधरी, नेकपाबाट कृष्णबहादुर कुँवर र राष्ट्रिय स्वतन्त्र पार्टीबाट मोहनलाल आचार्य उम्मेदवार रहे पनि चुनावी बहसको केन्द्रमा शर्मा देखिएका छन् ।

शालीन, अनुशासित र इमानदार छविका रूपमा परिचित शर्मालाई निष्ठावान्, जिम्मेवारीमा प्रतिबद्ध तथा समन्वयकारी नेताका रूपमा लिइन्छ । राजनीतिमा पद, शक्ति र पैसाको दुरुपयोग गर्ने आरोपबाट टाढा रहेका शर्माले सुशासन र सत्यको पक्षधर भएर विशिष्ट पहिचान बनाएको समर्थकहरूको भनाइ छ ।
राजनीतिसँगै व्यवसायिक क्षेत्रमा पनि सशक्त अनुभव हासिल गरेका शर्माले एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एमबीए अध्ययन पूरा गरेका छन् । चौधरी समूहको वित्तीय क्षेत्रमा वरिष्ठ महाप्रबन्धकको जिम्मेवारी सम्हालिसकेका उनले १४ वर्षभन्दा बढी समय वित्तीय सेवा र व्यवस्थापन क्षेत्रमा काम गरेका छन् । उद्योग समिति, नेपाल चेम्बर अफ कमर्श तथा महासंघमा कार्यकारी सदस्यका रूपमा आबद्ध शर्मा विभिन्न कम्पनीका बोर्ड सदस्य र सञ्चालकको भूमिकामा समेत रहेका छन् ।

कृषि र आर्थिक सम्भावनामा दीर्घकालीन लगानी गरेका शर्माले बुद्धभूमिमा २५ करोड रुपैयाँको लगानीमा स्थापना गरिएको नेपालकै पहिलो परिमार्जित वातावरणयुक्त ‘एग्रीवस्तु कोल्ड स्टोर प्रालि’ को नेतृत्व गरिरहेका छन् । युवाको उद्यमशीलता, कृषि आधुनिकीकरण र स्थानीय अर्थतन्त्र मजबुत बनाउने उनको योजनाले धेरैको ध्यान खिचेको छ ।
शर्माको राजनीतिक उदयसँगै कपिलवस्तुमा पुस्तान्तरणको बहस सुरु भएको छ । युवाशक्ति र अनुभवको संयोजनमार्फत जिल्लाको समृद्धि सम्भव हुने दाबी गर्दै आएका शर्मालाई धेरै युवाले जेन–जी पुस्ताको प्रतिनिधि पात्रका रूपमा हेर्न थालेका छन् ।
कपिलवस्तु–१ मा यो निर्वाचन जित–हारको प्रतिस्पर्धा मात्र नभई पार्टीभित्रको निर्णय प्रक्रिया, नयाँ नेतृत्वप्रतिको जनअपेक्षा र पुस्तान्तरणको परीक्षणसमेत बनेको छ । स्वतन्त्र उम्मेदवार आशिष शर्माको उपस्थितिले यो चुनावलाई साधारण राजनीतिक प्रतिस्पर्धाभन्दा माथि उठाएर अर्थपूर्ण राजनीतिक सन्देश बोकेको निर्वाचनका रूपमा रूपान्तरण गरेको छ ।









