गृहपृष्ठ खबर रुसी ड्रोन आक्रमणमा युक्रेनमा १५ जना खानी मजदुरको ज्यान गयो

रुसी ड्रोन आक्रमणमा युक्रेनमा १५ जना खानी मजदुरको ज्यान गयो

पूर्वी युक्रेनमा रुसी ड्रोन आक्रमणमा परी १५ जना खानी मजदुरको ज्यान गएको छ । युक्रेनको सबैभन्दा ठूलो निजी ऊर्जा कम्पनी डिटेकले काम सकेर फर्किरहेका मजदुरहरू चढेको बसलाई लक्षित गरी आक्रमण भएको जनाएको छ ।

आक्रमणमा कम्तीमा सात जना घाइते भएका बीबीसीले जनाएको छ । यस्तै, एक प्रसूति अस्पतालमा ड्रोन आक्रमण हुँदा सुत्केरी महिलासहित ६ जना घाइते भएका छन् । अस्पतालका झ्यालहरू फुटेका छन् भने भवनभित्र आगलागीसमेत भएको थियो ।

घटनापछि बिरामीहरूलाई सुरक्षित ठाउँमा सारिएको र यस आक्रमणमा अहिलेसम्म कसैको ज्यान नगएको खबरमा उल्लेख छ । युक्रेनी अधिकारीहरूले यी आक्रमणलाई नागरिकविरुद्ध लक्षित युद्धको संज्ञा दिएका छन् ।

युक्रेनका विदेशमन्त्री आन्द्रेई सिबिहाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शान्ति प्रयासविपरीत नागरिकमाथि युद्ध जारी राखेको आरोप लगाएका छन् । यसैबीच, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस, युक्रेन र अमेरिकाबीच हुने त्रिपक्षीय शान्ति वार्ता पर्सि बुधवार अबुधाबीमा शुरू हुने बताउनुभएको छ ।

सम्बन्धित् समाचार