इजरायली हवाई आक्रमणको नयाँ शृङ्खलामा शनिबार गाजा पट्टीभरि कम्तीमा ३२ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीका अनुसार मृतकहरूमा बालबालिका र महिलाहरू समेत रहेका छन् ।
दक्षिणी सहर खान युनिसमा विस्थापित मानिसहरू बसिरहेको एउटा पालमा हेलिकोप्टरबाट आक्रमण गरिएको एजेन्सीले जनाएको छ । प्यालेस्टिनीहरूले यी आक्रमणहरूलाई अमेरिकी राष्ट्रपति ट्रम्पको मध्यस्थतामा गत अक्टोबरमा भएको युद्धविराम सम्झौताको दोस्रो चरण यसै महिना लागु भएयताकै सबैभन्दा भीषण भनेका छन् ।
इजरायली सेनाले शुक्रबार हमासले सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै त्यसको जवाफमा यी आक्रमणहरू गरिएको पुष्टि गरेको छ । गत वर्षदेखि लागू भएको युद्धविरामपछि इजरायल र हमास दुवैले एकअर्कामाथि सम्झौता उल्लंघनको आरोप लगाउँदै आएका छन् । इजरायल डिफेन्स फोर्सेज (आईडीएफ) ले एक विज्ञप्ति जारी गर्दै पूर्वी रफाहको भूमिगत सुरुङबाट बाहिर निस्किएका ‘आठ आतंककारी’लाई पहिचान गरी निशाना बनाइएको बताएको छ ।
अक्टोबरको सम्झौताअनुसार उक्त क्षेत्रमा इजरायली सेना तैनाथ छ । आईडीएफले इजरायली सुरक्षा एजेन्सीसँग मिलेर हमासका चार कमाण्डर, अन्य लडाकु, हतियार भण्डारण गृह, हतियार उत्पादन स्थल र मध्य गाजाका दुई प्रक्षेपण केन्द्रहरूमा आक्रमण गरेको दाबी गरेको छ ।
हमासले यी आक्रमणहरूको कडा निन्दा गर्दै अमेरिकालाई तत्काल कदम चाल्न आग्रह गरेको छ । हमासले भनेको छ, “यी निरन्तरका उल्लंघनहरूले इजरायली सरकार गाजा विरुद्धको क्रूर नरसंहार जारी राख्न चाहन्छ भन्ने पुष्टि गर्दछ ।”
खान युनिसमा एकै परिवारका सातजना विस्थापित सदस्यहरूको मृत्यु भएको र आक्रमणले आवासीय भवन, पाल, आश्रयस्थल र प्रहरी चौकीमा क्षति पुर्याएको नागरिक रक्षा प्रवक्ताले बताएका छन् । गाजा सिटीको सिफा अस्पतालका अधिकारीहरूका अनुसार एउटा आवासीय अपार्टमेन्टमा भएको आक्रमणमा तीन बालबालिका र दुई महिलाको मृत्यु भएको छ ।
रोयटर्स समाचार एजेन्सीका अनुसार, मारिएका तीन बालबालिकाका काका सामर अल–अतबाशले आक्रोश पोख्दै भने, “हामीले हाम्रा साना भतिजीहरूलाई सडकमा मृत अवस्थामा भेट्टायौँ । उनीहरू ‘युद्धविराम’ भन्छन्, तर ती बालबालिकाले के गरेका थिए ? हामीले के गरेका थियौँ ?“
गाजाबाट प्राप्त भिडियो र तस्बिरहरूमा भग्नावशेषबाट शवहरू निकालिरहेको र कैयौँ भवनहरू ध्वस्त भएको हृदयविदारक दृश्य देखिन्छ ।








