दाङ — ट्रकले स्कुटरलाई ठक्कर दिंदा आइतबार बेलुका घोराहीमा छोराको मृत्यु भएको छ भने बुवा घाइते भएका छन् ।
मृत्यु हुनेमा स्कुटरमा सवार लमही नगरपालिका–६ का २२ वर्षीय अंकित चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा ८ प ३६३१ नम्बरको स्कुटरलाई सोही दिशातर्फ गैरहेको नम्बर नखुलेको ट्रकले घोराही उपमहानगरपालिका–१५ स्थित कटुवा खोला नजिकै ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते चौधरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी रेशम बोहराले जानकारी दिए । स्कुटर चालक मृतकका बुवा ५३ वर्षीय झपेन्द्रबहादुर चौधरी घाइते भएका छन् । चौधरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको उनले बताए ।








