जारी टी-२० विश्वकपको सुपर ८ खेलमा पाकिस्तानलाई २ विकेटले हराउँदै इङ्ग्ल्यान्ड सेमिफाइलनमा पुग्ने पहिलो टोली बनेको छ।
मंगलबार श्रीलंकाको पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको सुपर ८ खेलमा पाकिस्तानले दिएको १६४ रनको लक्ष्य इङ्ग्ल्यान्डले अन्तिम ओभरमा पूरा गर्यो।
खेलमा इङ्ग्ल्यान्डका कप्तान ह्यारी ब्रुकले उत्कृष्ट शतक प्रहार गरेका थिए।
ब्रुकले मात्र ५१ बलमा १०० रन बनाए, जसले इङ्ग्ल्यान्डलाई जितको नजिक पुर्यायो।
यद्यपि उनी आउट भएपछि इङ्ग्ल्यान्डले थप दुई विकेट गुमाएको थियो र समस्या देखिएको थियो।
तर अन्तत: इङ्ग्ल्यान्डले खेल जित्यो।
योसँगै सेमिफाइनल पुग्ने पाकिस्तानको सम्भावना भने लगभग सकिएको छ।
पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले चार विकेट लिए भने मोहम्मद नवाज र उस्मान तारिकले दुई-दुई विकेट लिए।
यस खेलमा पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो।
पाकिस्तानका लागि ओपनर साहिबजादा फरहानले सर्वाधिक ६३ रन बनाए। बाबर आजम र फखर जमानले पनि २५-२५ रन बनाए।
इङ्ग्ल्यान्डका लागि लियाम डसनले सबैभन्दा धेरै तीन विकेट लिए भने जोफ्रा आर्चर र जेमी ओभरटनले दुई-दुई विकेट लिए।
स्कोर:
पाकिस्तान: १६४/९ (२० ओभर)
इङ्ग्ल्यान्ड: १६६/८ (१९.१ ओभर)








