कपिलवस्तु : अभिषेक प्रताप शाह कपिलवस्तु क्षेत्र नं. ३ बाट पुनः प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदै पाँचौँ पटक संसद भवन छिर्ने भएका छन्। यसपटक उनले करिब ४ हजार ५ सयभन्दा बढी मतान्तरले विजय हासिल गरेका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टीको लहर चलेको चर्चा भइरहेका बेला पनि उनले मतदाताको विश्वास जीत्दै आफ्नो राजनीतिक पकड कायम राख्न सफल भएका छन्। यस जीतसँगै कपिलवस्तुको राजनीतिमा शाह परिवारको प्रभाव फेरि एकपटक स्थापित भएको छ।
कृष्णनगर निवासी शाहको जन्म २०३९ सालमा भएको हो। उनी स्वर्गीय अजय प्रताप शाह र स्वर्गीय सरोजनी शाह का कान्छा पुत्र हुन्। पारिवारिक रूपमा नै राजनीतिक पृष्ठभूमि भएका शाहले आफ्नो बुवाले सुरु गरेको राजनीतिक यात्रालाई निरन्तरता दिँदै कपिलवस्तु क्षेत्रको राजनीतिमा सक्रिय भूमिका निभाउँदै आएका छन्। उनले स्नातक तहसम्म अध्ययन गरेका छन् र युवावस्थादेखि नै सामाजिक तथा राजनीतिक गतिविधिमा संलग्न रहँदै आएका थिए।
शाहको राजनीतिक यात्रा विशेष गरी आफ्नो बुवाको निधनपछि अझ सक्रिय रूपमा अघि बढेको मानिन्छ। उनी पहिलो पटक २०६२ सालमा आफ्ना बुवा स्वर्गीय अजय प्रताप शाहको स्थानमा संसद भवन प्रवेश गरेका थिए। त्यसपछि २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा मधेश जनअधिकार फोरम बाट उम्मेदवार बनेर निर्वाचित भएका थिए। त्यसपछि २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा संघीय समाजवादी फोरम बाट प्रतिनिधित्व गर्दै फेरि संसद पुगेका थिए।
२०७४ सालमा भने उनले पार्टी परिवर्तन गर्दै नेपाली कांग्रेस बाट चुनाव लडे र पुनः प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए। यससँगै उनले लगातार विभिन्न राजनीतिक दलबाट निर्वाचन जीत्दै संसदमा आफ्नो उपस्थिति कायम राखे। कपिलवस्तु क्षेत्र नं. ३ मा उनको व्यक्तिगत प्रभाव, स्थानीय जनतासँगको सम्बन्ध र लामो राजनीतिक अनुभवले उनलाई बलियो उम्मेदवारका रूपमा स्थापित गरेको मानिन्छ।
तर २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा भने शाह पराजित भएका थिए। त्यो चुनावमा नयाँ राजनीतिक शक्ति र बदलिँदो राजनीतिक वातावरणका कारण उनी संसद बाहिरिएका थिए। यद्यपि उनले आफ्नो राजनीतिक सक्रियता भने रोकेनन्। स्थानीय स्तरमा निरन्तर जनसम्पर्क र संगठन निर्माणमा सक्रिय रहँदै उनले आफ्नो राजनीतिक आधारलाई मजबुत बनाउँदै लगे।
त्यसकै परिणामस्वरूप २०८२ सालको प्रतिनिधिसभा निर्वाचनमा शाहले पुनः विजय हासिल गरेका छन्। कडा प्रतिस्पर्धाका बीच उनले उल्लेखनीय मतान्तरसहित जीत निकाल्दै पाँचौँ पटक संसद भवन पुग्ने अवसर प्राप्त गरेका हुन्। यो जीतलाई धेरैले उनको व्यक्तिगत राजनीतिक प्रभाव र निरन्तर सक्रियताको परिणामका रूपमा हेरेका छन्।








