काठमाण्डाै – काभ्रेको बुच्चाकोटमा बस दुर्घटना हुँदा ७ जनाको ज्यान गएको छ । बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोकका लागि छुटेको बा ३ ख ८३९८ नम्बरको बस नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा दुर्घटना भएको हो ।
दुर्घटनामा ७ जनाको ज्यान गएको र ज्यान गुमाउनेको परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । दुर्घटना भएको बस अरनिको यातायातको हो । घटनास्थलमा अहिले उद्धार कार्य भइरहेको छ ।
प्रहरीका अनुसार १६ जनालाई उद्धार गरी धुलिखेल अस्पतालमा पठाइएको छ । बसमा कति जना चढेका थिए खुल्न सकेको छैन । बस चालकले प्रहरीलाई बताए अनुसार २५ देखि ३० जना यात्रु रहेका प्रारम्भिक विवरण छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ







