२५७० औँ बुद्ध जयन्तीका अवसरमा बुद्धनगरी कपिलवस्तुको तौलिहवामा प्रभातफेरी निकालिएको छ।
कपिलवस्तु नगरपालिकाको सहयोगमा २५७०औँ बुद्ध जयन्ती मूल आयोजक समिति-२०८३ कपिलवस्तुको आयोजनामा कार्यक्रम गरिएको हो। कपिलवस्तु नगरपालिका कार्यालयमा जम्मा भई जिल्ला प्रशासन कार्यालय अगाडिको चोक, गौढी चोक हुँदै मंगल विहारमा पुगेको हो। बिहारमा विशेष पूजा अर्चना गरिएको थियो। प्रभात फेरीका क्रममा बुद्धका उपदेशसम्बन्धी नारा समेत लगाइएको थियो।
कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले बुद्धका शिक्षालाई व्यवहारमा उतार्नु पर्ने बताए। प्राचीन नगरी कपिलवस्तुलाई बुद्धमय बनाउन सबैको पहल आवश्यक रहेको बताए। उनले बहत्तर लुम्बिनीको विकासकालागि १२ अर्बको ऋण सहयोग स्वीकृत भएकाले अब भने ओझेलमा परेको कपिलवस्तुको विकास हुने बताए। यस क्रममा लुम्बिनीबाट आएका पर्यटकलाई कपिलवस्तु नगरपालिका अगाडि खादा लगाएर स्वागत गरिएको लुम्बिनी विकास कोषका पूर्व कार्यकारी सदस्य राजेश ज्ञवालीले बताए।
शान्ति, अहिंसा र सद्भावको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा स्थानीयवासी , सुरक्षाकर्मी, विभिन्न संघ संस्था तथा सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो। बुद्ध जयन्तीको अवसरमा चित्रकला तथा वक्तृत्वकला प्रतियोगिता समेत गरिएको थियो। यस्तै शुक्रवार साँझ प्रशासन चोक अघि दीप प्रज्वलन कार्यक्रम समेत छ।






