गृहपृष्ठ खबर दलित समुदायका कार्यक्रम नीति तथा कार्यक्रममा समावेश नभएको गुनासो

दलित समुदायका कार्यक्रम नीति तथा कार्यक्रममा समावेश नभएको गुनासो

बाणगंगा ।

कपिलवस्तुको बाणगंगा नगरपालिकाका दलित जनप्रतिनिधिहरुले आफ्ना समुदायका कार्यक्रम तथा मुद्दा स्थानीय तहको नीति तथा कार्यक्रममा पर्याप्त रुपमा समावेश नभएको गुनासो गरेका छन् ।

जागरण मिडिया सेन्टरले बिहीबार आयोजना गरेको महिला जनप्रतिनिधिहरुको नेतृत्व विकास कार्यशालामा बोल्दै कार्यपालिका सदस्यहरुले दलित समुदायका सवाललाई बेवास्ता गरिए कार्यपालिका बैठकदेखि नगरसभासम्मका कार्यक्रमहरु बहिष्कार गर्ने चेतावनी दिएका हुन् ।

कार्यपालिका सदस्य दिलबहादुर खातीले दलित जनप्रतिनिधिहरु एकजुट हुँदा मात्रै आफ्ना कार्यक्रम नीति तथा कार्यक्रममा समावेश गराउन सफल भएको अनुभव सुनाउनुभयो । उहाँले पालिकामा दलित जनप्रतिनिधिहरुप्रति अझै पनि उपेक्षाको प्रवृत्ति कायम रहेको बताउँदै दलित समुदायका कार्यक्रमप्रति अन्य जनप्रतिनिधि पर्याप्त उदार बन्न नसकेको गुनासो गर्नुभयो ।

उहाँले दलित जनप्रतिनिधिबीच समेत आवश्यक समन्वयको कमी रहेको उल्लेख गर्दै अब योजनाबद्ध र संगठित रुपमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

त्यस्तै कार्यपालिका सदस्य शारदा परियार र पिताम्बर सुनार लगायतले दलित समुदायको वास्तविक अवस्था पहिचान गर्न प्रोफाइल निर्माण आवश्यक रहेको बताउनुभयो । उहाँहरुले बाणगंगामा दलित ऐन निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाउँदै आगामी दिनमा पनि दलित समुदायका कार्यक्रम सम्बोधन नभए कार्यपालिका बैठकदेखि अन्य कार्यक्रमसमेत बहिष्कार गर्ने चेतावनी दिनुभयो ।

 

साथै, छुवाछुतमुक्त नगर घोषणा गर्नका लागि निरन्तर अघि बढ्ने उल्लेख गर्नुभयो । कार्यक्रममा जागरण मिडिया सेन्टरका अध्यक्ष तथा संविधान सभा सदस्य कमला विश्वकर्माले दलित जनप्रतिनिधिहरुको क्षमता अभिवृद्धि र आवाजलाई सशक्त बनाउने उद्देश्यले कार्यशाला आयोजना गरिएको बताउनुभयो । उहाँले दलित समुदायका सवाललाई प्रभावकारी रुपमा उठाउन जनप्रतिनिधि, सञ्चारकर्मी र सरोकारवालाबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।

 

कार्यशालामा अधिवक्ता हेमा न्यौपाने र जागरण मिडिाया सेन्टर लुम्बिनी प्रदेश प्रमुख विनोद परियारले दलित अधिकार, स्थानीय तहमा नेतृत्व विकास तथा कानुनी व्यवस्था सम्बन्धी विषयमा प्रशिक्षण दिनुभएको थियो ।

जागरण मिडिाया सेन्टरका अध्यक्ष कमला विश्वकर्माको अध्यक्षता, प्रदेश प्रमुख विनोद परियारको स्वागत मन्तब्य तथा जिल्ला प्रतिनिधि दिपिका सुनारको सहजीकरणमा भएको कार्यशालामा जनप्रतिनिधि, महिला नेत्रृ, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित् समाचार