काठमाडौँ — रास्वपाको सदस्यता लिने संख्या ५ लाखभन्दा बढी रहेका छन् । चितवनमा जारी पहिलो महाधिवेशनमा महामन्त्री कविन्द्र बुर्लाकोटीले पेस गरेको सांगठनिक प्रतिवेदनमा रास्वपा सदस्यमध्ये ७५ प्रतिशत पुरुष र १७ प्रतिशत महिला रहेको उल्लेख छ । रास्वपाको कुल सदस्यता संख्या ५ लाख २३ हजार ४ सय ६५ रहेको छ ।
विवरणअनुसार रास्वपामा पुरुष सदस्यको संख्या ३ लाख ९६ हजार ७ सय ८९ रहेको छ भने महिला सदस्यको संख्या ८९ हजार ८ सय ९६ रहेको छ । त्यस्तै अन्यको संख्या ५ सय ८८ रहेको छ ।
त्यस्तै उमेर समूहका आधारमा सबैभन्दा बढी १८ देखि ४५ वर्ष रहेको छ । उक्त उमेर समूहका सदस्यको संख्या ३ लाख ३५ हजार ४ सय ७८ रहेको छ । त्यस्तै ४६ देखि ६५ वर्ष उमेर समूहका सदस्य संख्या ९८ हजार ८ सय ५७ र ६५ वर्षमाथिका सदस्य संख्या १३ हजार ६ सय ८२ रहेको छ ।
महामन्त्री बुर्लाकोटीले पेस गरेको विवरणअनुसार रास्वपामा १८ वर्षमुनिका समेत सदस्य रहेका छन् । उक्त उमेर समूहका ३५ हजार २ सय ५७ सदस्य रहेका छन् ।
नेपालको कानुनअनुसार १८ वर्ष नपुगेका व्यक्तिलाई राजनीतिक दलको औपचारिक सदस्य वा पदाधिकारी बनाउन पाइँदैन । राजनीतिक दलसम्बन्धी ऐन-२०७३ अनुसार कुनै पनि दलको सदस्यता लिन १८ वर्ष पूरा भएको हुनुपर्छ । बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ७ को उपदफा ७ मा कुनै पनि बालबालिकालाई राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न नपाइने कानुनी प्रावधान रहेको छ ।
पनि बालबालिकालाई राजनीतिक प्रयोजनका लागि संगठित गर्न नपाइने कानुनी प्रावधान रहेको छ । त्यस्तै संयुक्त राष्ट्रसंघीय बाल अधिकारसम्बन्धी महासन्धिले १८ वर्षमुनिका बालबालिकालाई राजनीति र राजनीतिक दलको दुरुपयोगबाट जोगाउनुपर्ने व्यवस्था गरेको छ ।







