गृहपृष्ठ Featured विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत

विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत

घनश्याम भर

(विजयनगर) कपिलवस्तु, ९ असार ।

कपिलवस्तुको विजयनगर गाउँपालिकाको दोस्रो गाउँसभाको नवौँ अधिवेशन (वर्षे अधिवेशन) भव्य रुपमा सम्पन्न भएको छ । गाउँसभाले मंगलबार आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ ।

गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ६८ करोड ११ लाख ७८ हजार ६ सय रुपैयाँको बजेट प्रस्ताव गरेको छ । प्रस्तुत बजेटमध्ये चालुतर्फ ४९ करोड ९९ लाख ३७ हजार रुपैयाँ (७३.४० प्रतिशत) तथा पुँजीगततर्फ १८ करोड १२ लाख ४१ हजार ६ सय रुपैयाँ (२६.६० प्रतिशत) विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रममा कृषि उत्पादन वृद्धि, गुणस्तरीय शिक्षा, आधारभूत स्वास्थ्य सेवा, सिँचाई विस्तार तथा पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखिएको छ ।

गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा रोजगार सिर्जना, सामाजिक सुरक्षा, खानेपानी तथा सरसफाई, सुशासन प्रवर्द्धन, गरिबी निवारण, गुणस्तरीय, सर्वसुलभ र आधुनिक शिक्षा तथा स्वास्थ्य सेवा विस्तारलाई उच्च प्राथमिकतामा राखेको छ ।

साथै कृषि क्षेत्रको विविधीकरण, आधुनिकीकरण र व्यवसायीकरण, सरकारी, निजी तथा गैरसरकारी क्षेत्रको सहकार्यमार्फत उत्पादकत्व र आर्थिक वृद्धि, सडक सञ्जाल विस्तार, प्रविधिको विकास तथा विस्तार, सार्वजनिक सेवामा नागरिकको सहज पहुँच सुनिश्चित गर्ने तथा विभिन्न धर्म-सम्प्रदायका मौलिक साँस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने नीति अवलम्बन गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले सीमित स्रोत र साधनको अधिकतम उपयोग गर्दै नागरिकको जीवनस्तर उकास्ने उद्देश्यका साथ नीति तथा कार्यक्रम ल्याइएको बताए । उनले कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई केन्द्रमा राखेर समृद्ध विजयनगर निर्माणको अभियानलाई अघि बढाइने उल्लेख गरे ।

यस्तै गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले प्रस्तुत बजेट तथा कार्यक्रम समावेशी, जनमुखी र परिणाममुखी रहेको बताउँदै महिलाहरू, बालबालिका, किसान तथा विपन्न समुदायको हितलाई विशेष ध्यान दिइएको जानकारी दिइन् ।

यसैगरी प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले गाउँपालिकाको वित्तीय अनुशासन, पारदर्शिता र प्रभावकारी कार्यान्वयनमा जोड दिँदै स्वीकृत कार्यक्रमलाई समयमै सम्पन्न गर्न प्रशासनिक संयन्त्र पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए ।

विश्वकर्माका अनुसार गाउँसभामा आर्थिक विधेयक २०८३/८४ र विनियोजन विधेयक २०८३/८४ समेत पेश गरिएको  छ । गाउँसभाले आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम पारित गर्दै बजेटमाथि थप छलफलका लागि आगामी असार १६ गते मंगलबार अर्को बैठक बस्ने निर्णय गरेको छ ।

उक्त बैठकबाट बजेट तथा कार्यक्रमलाई अन्तिम रूप दिइने जनाइएको छ ।

सम्बन्धित् समाचार